आरएमसी फुड्सको आम्दानीमा २७२ प्रतिशतले उछाल, १७.६९ अर्ब पुग्यो

काठमाडौं । आरएमसी फुड्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै १२ अर्बभन्दा बढी आम्दानी गर्दै व्यापारमा तीव्र विस्तार देखाएको छ । कम्पनीले पुस मसान्तसम्म १२ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जनाएको छ, जसमा करिब ६२ प्रतिशत हिस्सा निर्यातबाट आएको छ। साथै, कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २७२ प्रतिशत अर्थात् १२ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ४ अर्ब ७६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  भारतले रिफाइन्ड तेलमा आयात शुल्क बढाएपछि नेपालबाट हुने निर्यात प्रतिस्पर्धी बनेको र त्यसकै कारण निर्यातमा ठूलो वृद्धि भएको कम्पनीले जनाएको छ । गत वर्ष निर्यात बिक्री १६ करोड रुपैयाँबाट बढेर १० अर्ब ४१ करोड रुपैयाँ पुगेको कम्पनीको दाबी छ । साथै चालु आवको ६ महिनामा ६२ प्रतिशत हिस्सा निर्यातको रहेको कम्पनीले जनाएको छ । नाफा पक्षमा पनि कम्पनीले उल्लेखनीय सुधार गरेको छ । गत वर्ष ब्याज, कर, मूल्यह्रास र परिशोधन अघिको आम्दानी १९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १८ लाख रुपैयाँ घाटामा थियो । ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघिको आम्दानी मार्जिन ११.०७ प्रतिशत र खुद नाफा मार्जिन ६.८६ प्रतिशत पुगेको छ । साथै, ग्रस क्यास एक्रुअल १४५ करोड रुपैयाँमा पुगेको कम्पनीले जनाएको छ । सन् २०२१ अगस्टमा स्थापना भएको आरएमसी फुड्स आरएमसी समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । खाद्य तेल तथा अन्य खाद्य सामग्री उत्पादनलाई विस्तार गर्दै बजारमा सक्रियता बढाएको कम्पनीको प्रशोधित खाने तेल वार्षिक ९० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको जनाएको छ । कम्पनीका प्रमुख प्रवर्द्धकका रूपमा राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवाल रहेका छन्, जसको सन् २०२६ जनवरी मध्यसम्म प्रत्येकको ४५-४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक राजेश कुमार अग्रवालसँग ३० वर्षभन्दा बढी अनुभव रहेको छ र उनले वित्तीय व्यवस्थापन हेर्दै आएका छन् । यस्तै, निर्देशक विष्णु कुमार अग्रवालसँग २५ वर्षभन्दा बढी अनुभव रहेको छ र उनले बिक्री, बजार व्यवस्थापन तथा उत्पादन पक्ष सम्हाल्दै आएका छन् ।  कम्पनीले रिफाइन्ड तेल, राइस ब्रान तेल, वनस्पति घ्यू, एसिड आयल, चामल, दाल, बेकरी सर्टनिङ, मार्जरीन, फ्याट स्प्रेड्स तथा तेलको उत्पादन तथा प्रशोधन गर्दै आएको छ । उत्पादित खाद्य तेल ‘न्युट्रिप्लस’ ब्रान्डमार्फत बजारमा बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । आरएमसी फुड्सको उत्पादन प्लान्ट बारा जिल्लाको जीतपुरमा रहेको छ, जुन वीरगञ्ज नाकाबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । यो स्थान कच्चा पदार्थ आयात गर्न तथा तयार वस्तु भारतलगायत अन्य बजारमा निर्यात गर्नका लागि अत्यन्त उपयुक्त मानिन्छ ।  कम्पनीको पुँजी संरचना आर्थिक वर्ष २०८१/८२ मा सुधारिएको देखिन्छ । समग्र गियरिङ अनुपात १४.१४ गुणाबाट घटेर ४.०६ गुणामा झरेको छ, जुन नाफा वृद्धिसँगै नेटवर्थ बढेका कारण सम्भव भएको कम्पनीले बताएको छ । त्यस्तै, कुल बाह्य दायित्व र नेटवर्थ अनुपात पनि १५.९२ गुणाबाट घटेर ४.८० गुणामा आएको छ । ऋण भुक्तानी क्षमतामा समेत सुधार देखिएको छ, जहाँ ब्याज कभरेज अनुपात ५.३२ गुणा पुगेको छ भने ऋण सेवा कभरेज अनुपात ०.१८ गुणाबाट बढेर ३.३३ गुणा पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को मध्य जनवरीसम्म कम्पनीको पुँजी संरचना अझै मजबुत बनेको देखिन्छ । गियरिङ अनुपात २.७२ गुणा र नेटवर्थ अनुपात ४.१९ गुणामा झरेको छ । यद्यपि, नाफामा केही कमी आएपछि ऋण सेवा कभरेज अनुपात १.८४ गुणा र ब्याज कभरेज अनुपात ५.२३ गुणामा सीमित भएको छ । कार्यशील पुँजी व्यवस्थापनतर्फ पनि सुधार देखिएको कम्पनीको दाबी छ । गत वर्ष कार्यशील पुँजी तीव्रता ८३ प्रतिशतबाट घटेर ३८ प्रतिशतमा झरेको छ । उठाउनुपर्ने रकमको अवधि १४१ दिनबाट घटेर ५९ दिनमा आएको छ भने भण्डारण अवधि पनि ३४ दिनबाट घटेर २४ दिनमा सीमित भएको छ । तर, व्यवसाय विस्तारसँगै यस्तो सुधार दीर्घकालीन रूपमा कायम रहनेमा चुनौती देखिएको छ । यदि उठाउनुपर्ने रकम ढिला उठ्ने वा स्टक बढ्ने अवस्था आयो भने सञ्चालन चक्र लम्बिन सक्ने र थप कर्जा लिनुपर्ने दबाब बढ्ने कम्पनीले जनाएको छ ।  हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ६४ करोड ३० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब २५ करोड ४४ लाख रुपैयाँ दीर्घकालीन र १० अर्ब ३८ करोड ८५ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ गरी कुल ५ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ ऋण लिएको थियो कम्पनीले प्रयोग गर्ने मुख्य कच्चा पदार्थ कच्चा खाद्य तेल भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिन्छ, जसले नाफामा सीधा असर पार्ने कम्पनीले जनाएको छ । आयात अमेरिकी डलरमा हुने भएकाले विनिमय दरको उतारचढावले पनि जोखिम कायम रहेको कम्पनीको भनाइ छ । गत वर्ष कम्पनीले करिब ६२ करोड रुपैयाँ र चालु आवको पहिलो अर्धवार्षिकमा करिब ९२ करोड रुपैयाँ विदेशी विनिमय घाटा बेहोरेको कम्पनीको दाबी छ । 

थापाथलीको सुकुम्बासी बस्ती खाली, ६ परिवारलाई रंगशालामा लगियो

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । शनिवार बिहानैदेखि नेपाल प्रहरीले थापाथलीस्थित बागमती किनाराको सुकुम्बासी बस्तीलाई उठाएको थियो ।  थापाथलीबाट हटाएको सुकुम्बासी तथा घरबारविहीन ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुर्‍याउने काम गरिरहेको छ ।  काठमाडौंका नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासीलाई राख्न सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ । पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो । सुकुम्बासीहरूलाई सरकारले राख्न केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ । नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ ।  त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ ।भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ।  खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ। उनले नक्कली सुकुम्बासीको हकमा पनि विकल्प नदिइने र त्यसको विवरण सार्वजनिक गर्ने बताइन्  । त्यस्तै अब प्रत्येक व्यक्तिको लगतलाई डिजिटल प्रणालीमा राखेर विस्तृत विवरण तयार पार्ने पनि तयारी भइरहेको उनले जानकारी दिइन् । शनिबार बिहानदेखि हटाइएका सुकुम्बासी परिवारलाई सरकारले खानाको व्यवस्था गरेको छ । पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको पनि उनले बताइन् । पहिलाकै लगानीलाई सदुपयोग गरिने र यसअघि निर्माण भएकै संरचनामा सुकुम्बासीको व्यवस्थापन गर्ने सरकारले तयारी गरेको छ ।

ठेकेदार मारमा, कर्मचारी घरमा

काठमाडौं । बिटुमिन अर्थात् अलकत्राको अभाव हुँदा देशभरका सडक निर्माणमा समस्या सिर्जना भएको छ । भारतबाट आयात हुने बिटुमिनको मूल्यवृद्धिसँगै अभाव हुँदा देशभरका सडक निर्माणमा असर परेको हो ।  सडक विभागका प्रवक्ता श्याम खड्काका अनुसार देशका प्रायः सबै सडक आयोजनाहरूमा बिटुमिनको अभावले असर पु¥याएको छ । ‘नारायणघाट-मुग्लिनदेखि सूर्यविनायकसम्मका सबै मुख्य सडकहरू प्रभावित छन्,’ खड्काले भने ।  देशभर कति प्रतिशत सडकमा असर प¥यो भन्ने यकिन तथ्याङ्क नभए पनि सबै ठूला आयोजनाहरू अहिले समस्यामा रहेको उनले जानकारी दिए ।  अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको आपूर्तिमा आएको अवरोध र अप्रत्याशित मूल्यवृद्धिका कारण राष्ट्रिय गौरवको आयोजना नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्य गम्भीर रूपमा प्रभावित भएको चितवन निर्माण व्यवसायी संघका अध्यक्ष दिनेशचन्द्र न्यौपानेले विकासन्युजसँग बताए ।  उनका अनुसार बिटुमिनको चरम अभावले गर्दा आयोजनाको झण्डै ८० प्रतिशत काम अझै बाँकी रहेको अवस्थामा निर्माण प्रक्रिया नै ठप्प छ । आपूर्ति शृङ्खलामा अवरोध र मूल्यमा दोब्बर वृद्धि भएको उनको भनाइ छ ।  इरानबाट ठूलो मात्रामा बिटुमिन आयात हुने गरेको छ । नेपालमा भारत हुँदै बिटुमिन आयात हुन्छ । भारतीय कम्पनी ‘हिन्दुस्तान पेट्रोलियम’ ले नेपाललाई दिँदै आएको बिटुमिन आपुर्ति पूर्णरुपमा बन्द गरेको व्यवसायीहरु बताउँछन् ।  इरानबाट आपूर्ति रोकिएपछि भारतले आफ्नो देशको उत्पादन आफैले खपत गर्न थालेको छ, जसका कारण नेपालमा बिटुमिनको हाहाकार मच्चिएको हो । अभावसँगै बिटुमिनको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको छ ।  न्यौपानेका अनुसार केही समय अघिसम्म प्रतिकिलो ७८ रुपैयाँमा पाइने बिटुमिनको मूल्य अहिले भ्याटसहित १६० रुपैयाँ पुगेको छ । न्यौपानेका अनुसार आयोजनाको बेस र सब-बेसका कामहरू सकिए पनि पिच गर्ने मुख्य काम बिटुमिनकै अभावमा रोकिएको छ ।  ‘हाम्रो एरियामा अझै ८० प्रतिशत काम बाँकी छ, जसमा धेरैजसो अलकत्राकै काम हो,’ उनले भने । उनका अनुसार बिटुमिनको अभाव हुँदा सडक निर्माणमा खटिएका कर्मचारीहरु पनि घर फर्किन थालेका छन् ।  अहिलेको संकट समाधानका लागि निजी क्षेत्रबाट मात्र सम्भव नदेखिएको उनको तर्क छ । न्यौपानेका अनुसार अब नेपाल सरकारले भारत सरकारसँग समन्वय गरेर बिटुमिन आयात नगरेसम्म आयोजना अगाडि बढ्न सक्ने अवस्था छैन । यदि समयमै यसको समाधान नखोजिए लागत बढ्नुका साथै आयोजना अझै लम्बिने निश्चित देखिएको उनी बताउँछन् ।  नेपाल बिटुमिन तथा ब्यारेल उद्योगका अनुसार बजारमा आपुर्ति रोकिएको छ । भएको स्टक पनि महँगो मूल्यका कारण बिक्री हुन नसकिरहेको उद्योगको भनाइ छ ।  ‘ग्राहकहरू आउँछन्, मूल्य सोध्छन् र मूल्य सुन्नेबित्तिकै भाग्छन्,’ उद्योग स्रोतले भन्यो ।  निर्माण व्यवसायी महासंघका महासचिव शिवहरी घिमिरेले बिटुमिनको अभाव र मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा भयावह स्थिति सिर्जना भएको बताए । उनका अनुसार बिटुमिन नहुँदा झण्डै २५ प्रतिशत निर्माण कार्य रोकिएको छ ।  उनका अनुसार व्यवसायीहरूलाई १ करोडको काम गर्दा १ करोडकै घाटा हुने अवस्था सिर्जना भएको छ । बिटुमिन र इन्धनको मूल्यवृद्धिका कारण समग्र आयोजनाको लागत ४० प्रतिशत बढ्ने उनको अनुमान छ । निर्माण कार्य नभएपछि श्रमिकहरू कटौतीमा परेका छन् । उनका अनुसार व्यवसायीहरूले मूल्य समायोजनका लागि सरकारसँग माग गरे पनि सरकारबाट ठोस कदम चालिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मूल्य समायोजनको मौखिक आश्वासन दिए पनि अहिलेसम्म कुनै लिखित निर्णय वा कार्यान्वयन नभएको उनको भनाइ छ ।  सरकारी निकाय र कर्मचारीले जिम्मेवारी नलिँदा र समयमै मूल्य समायोजन नगर्दा विकास निर्माणका कामहरू पूर्ण रूपमा ठप्प हुने र निर्माण व्यवसायीहरू पलायन हुने स्थिति सिर्जना हुने चिन्ता उनले व्यक्त गरे ।