आरविवि मर्चेन्टले आयोजना गर्यो सचेतनामूलक कार्यक्रम

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत श्री सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए । आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानीमा स्थापित संस्था हो ।

नेपाल हाम्रो उच्च प्राथमिकतामा छ : एआईआईबी

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका सदस्यहरूले नेपाल बैंकको उच्च प्राथमिकतामा रहेको बताए । रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे । उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए । ५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए । मन्त्री पुनको उक्त आग्रहका लागि धन्यवाद दिँदै रथनायेकेले बहुवर्षीय आयोजनाहरूको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औंल्याए । मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए । रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए । मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन् । एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महंगो भएकाले नेपालले अपेक्षितरूपमा ऋण लिन नसकेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल एआईआईबीको संस्थापक सदस्य भए पनि महंगो ब्याजदरका कारण सोचेजति लाभ लिन नसकेको स्पष्ट गरे । नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न काँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी हुने मन्त्री पुनले बताए । सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै आन्तरिक श्रोतको सीमितताका कारण बाह्य श्रोत जुटाउन आवश्यक रहेको उनले स्पष्ट गरे । पुनले पूर्वाधार विकाससहित जलविद्युत, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न टोलीलाई आग्रह गरे । जलविद्युतका लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले उक्त क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले औंल्याए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको स्पष्ट गरे । यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको बताए । आगामी सन् २०२६ मा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने भन्दै उनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधिकरण गर्न उनको आग्रह थियो । यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले आग्रह गरे । देशभित्र र बाहिरको समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानूनमा सुधार गर्दै लैजाने प्रतिबद्धता मन्त्री पुनको थियो । एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

बचत खाताअन्तर्गत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १ करोड २० लाखको बीमा रकम

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १ करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी भएको छ । गत असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा पर्नु भएका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले कूल १ करोड २० लाख बीमा रकम भुक्तानी भएको हो । उक्त भुक्तानी आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी गरिएको बैंकले जानकारी गराएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहक तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो । यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत जनही १० लाखको दरले भुक्तानी गरिएको हो । त्यस्तै, काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाखको दरले रकम प्रदान गरिएको हो । निज लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त भुक्तानी गरिएको हो । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो । यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैंयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख रुपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ लिन सक्नेछन् ।