सनराइज बैंकले सेती प्रादेशिक हस्पिटललाई वितरण गर्यो २५ थान पीपीई

काठमाडौं । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सेती प्रादेशिक हस्पिटललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सो मात्राको पीपीई हस्तान्तरण गरेको हो । बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री (पीपीई) हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेकोमा धन्यवाद दिएका छन् । बैंककाका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको बताए । बैंकले हालसम्म विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी (पीपीई) उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

नेपाल एसबिआई बैंकद्वारा कोरोना रोकथामको लागि विभिन्न स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज । नेपाल एसबिआई बैंकको कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग गरेको छ। बैंकले उक्त गाउँपालिकालाई करिब ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । बैंकले एक कार्यक्रमकाबीच ३ थान व्यक्तिगत सुरक्षा कवच (पीपीई), सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब ८२ हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका प्रदेश ५ का प्रमुख टिकेन्द्र खड्का, कोहलपूर शाखा प्रमुख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिति थियो ।

बिहीबारदेखि एनसीएचएल-इसीसी र एनसीएचएल-आईपीएसको क्लियरिङ्ग समय वृद्धि

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग ( एनसीएचएल इसीसी) र अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल आईपीएस)मा बिहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ्ग र सेटल्मेन्ट हुने भएको छ । सोही व्यवस्था अनुसार एनसीएचएल इसीसी को रेगुलर सेसनमा दिनको १ः३० बजेसम्म जम्मा गरिएका चेकहरु र एनसीएचएल आईपीएस मा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । उक्त समय सीमा पछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था रहेको छ । हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनसीएचएल इसीसी र एनसीएचएल आईपीएस मार्फत् प्रत्येक दिन ११ः३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो । चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो । कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् । एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ । लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हफ्तामा क्रमश १८ अर्ब ६ करोड रुपैयाँ र ३५ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार फर्छौट गरेको छ । एनसीएचएलले हाल एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।