काठमाडौं । स्वावलम्बन विकास केन्द्रका ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् ।
यो प्रमाण पत्र प्राप्त गर्नेमा काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।
ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र कुनै पनि वित्तीय सेवा प्रदायक संस्था ग्राहकहरुको लागि सुरक्षित छ भनी अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पेन संस्थाबाट निर्धारण गरिएका ७ वटा मापदण्ड र १ सय ९८ वटा सुचकहरु पालना भए नभएको स्वतन्त्र मुल्यांकनको आधारमा प्रदान गरिन्छ ।
यो प्रमाण पत्र प्रदान गर्नुअघि कुनै पनि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन, समस्या समाधानको संयन्त्र, ग्राहक सदस्यहरुको सुचनाको गोपनियता, सेवा प्रदायक संस्थाले ग्राहक सदस्य प्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जिम्मेवारपूर्ण लगानी तथा सदस्य प्रति जवाफदेहीता लगायत सुचकहरुको मुल्यांकन गरिन्छ ।