काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजारमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । काउण्टरको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका छन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।
संस्थाको ललितपुर जिल्लाको चापागाँउ, काठमाण्डौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयरसदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको बताएको छ ।
३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्येक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको संस्थाको भनाई छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औं वर्षमा संचालित रहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज प्रा.लि. तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटल प्रालिले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने गरेको छ । संस्थाले बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्र तर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज प्रा.लि. र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।
साथै संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिमहरु प्रदान गर्दै आई रहेको छ । हाल छ (६) स्थानमा रहेको सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यक भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिएको छ ।