५ जीवन बीमाको बोनसदरः सबैभन्दा बढी मेटलाइफको, रिलायन्सको कम, महालक्ष्मीको औषत

काठमाडौं । हालसम्ममा ५ वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका १९ वटा जीवन बीमा कम्पनीमध्ये ५ वटाले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । नयाँ बोनसदर सार्वजनिक गर्नेमा प्राइम, महालक्ष्मी, ज्योति, रिलायन्स र मेटलाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये मेटलाइफले सबैभन्दा बढी र प्राइम लाइफले सबैभन्दा कम बोनसदर घोषणा गरेका छन् । मेटलाइफले हालसम्म सार्वजनिक गरेको जीवन बीमालेखमध्ये केहीमा प्रतिवर्ष प्रतिहजार अधिकतम ८० प्रतिशतसम्म र रिलायन्सले पनि आफ्नो कुनै बीमालेखको बीमांकमा प्रतिवर्ष प्रतिहजार न्यूनतम १९ रुपैयाँ दिने घोषणा गरेका छन् । त्यस्तै, यी ४ वटा कम्पनीको तुलनामा महालक्ष्मी लाइफले घोषणा गरेको बोनसदर औषत रहेको छ । कम्पनीले सबै प्रकारका बीमितलाई धेरै भिन्नता नगरी औषतदरमा बोनस घोषणा गरेको देखिन्छ । कम्पनीले ल्याएको योजनामा प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर वितरण गर्ने भएको छ । मेटलाइफ अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । उक्त बोनसदर १७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार निर्धारण गरिएको कम्पनीले जनाएको छ । नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमामा प्रतिहजार ६० देखि ८० रुपैयाँसम्म बोनसदर दिने भएको छ । यो योजनाको लागि १ देखि १५ वर्षसम्म अवधिको प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, शिक्षा संरक्षण बीमाका लागि १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सोभन्दा माथिको बीमालेखका लागि ८० रुपैयाँ नै तोकिएको कम्पनीले जानकारी गराएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक नामको बीमालेखमा पनि बीमितले न्यूनतम ४५ देखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । साथै, यी बोनसदर मृत्यु दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुनेछ । यो बोनसदर बीमा समितिबाट अर्को व्यवस्था स्वीकृति नभएसम्म लागू हुने कम्पनीले जनाएको छ । रिलायन्स रिलायन्स लाइफ इन्स्योरेन्सले पनि विभिन्न योजनामा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सावधिक बीमा योजनामा न्यूनतम ३० देखि ६० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ६० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिकमा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । त्यस्तै, वार्षिक अग्रिम भुक्तानी मुद्दति नियमित शुल्क बीमा योजनाका सबै अवधिमा २४ रुपैयाँ र एकल बीमाशुल्क ५४ रुपैयाँ तथा सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बोनस बीमितलाई वितरण गरिने कम्पनीले जनाएको छ । महालक्ष्मी महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ । कम्पनीले ल्याएको बीमा योजनामध्ये महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा सबैभन्दा कम अर्थात ४० प्रतिशत बोनसदर तोकेको छ । त्यस्तै, २६ देखि ३० वर्ष अवधिको महालक्ष्मी सावधिक जीवन बीमा योजनाका बीमितले सबैभन्दा बढी अर्थात प्रतिहजार बीमाङ्कमा ५२ रुपैयाँसम्म बोनस पाउने छन् । महालक्ष्मी सावधिक जीवन बीमामा प्रतिहजार बीमाङ्कमा बीमितले न्यूनतम ५० देखि ५२ रुपैयाँसम्म बोनस पाउनेछन् । जसमा ५ देखि १५ वर्ष अवधिकोमा ५० रुपैयाँ, १६ देखि २५ वर्षकोमा ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखमा ५२ रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा, दुबै योजनाका लागि न्यूनतम ५० र अधिकतम ५१ रुपैयाँ बोनसदर तोकिएको छ । यी दुबै बीमालेखका लागि ५ देखि १५ वर्षसम्म अवधिको ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिकोमा ५१ रुपैयाँ बोनस पाइने छ । महालक्ष्मी वार्षिक धनफिर्ता बीमाका सबै अवधिको लागि ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमाका पनि सबै अवधिको लागि ५० रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जानकारी गराएको छ । प्राइम  प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ४० रुपैयाँ, १५ देखि १९ वर्षको ४८ रुपैयाँ, २० देखि २४ वर्षको ५५ र २५ देखि माथिको ७० रुपैयाँ बोनस तोकिएको छ । त्यस्तै, प्राइम जीवन उपहार योजना अन्तर्गतको अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिकमा ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । साथै, अन्य योजना अन्तर्गतको म्यादी जीवन बीमामा भने कुनै पनि अवधिको लागि बोनसदर निर्धारण गरिएको छैन । ज्योति  ज्योति लाइफ इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो । कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । इन्स्योरेन्स कम्पनीहरूले २०७६ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा नयाँ बोनसदर दिने घोषणा गरेका हुन् । कम्पनीले उक्त आवको आर्थिक लेखाजोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेका हुन् । सो प्रतिवेदनलाई बीमा समितिले स्वीकृत गरिसकेकाले सम्बन्धित कम्पनीहरुले नयाँ बाेनसदर सार्वजनिक गरेका हुन् ।

सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजारको समाचार लेख्न पत्रकारलाई कडाई गर्न माग गरेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने बताएकाे हाे । नेपालको पुँजी बजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति ध्यानाकर्षण गराउँदै चेम्बरले मिडियालाई कडाई गर्ने लगायतका विभिन्न १६ बुँदे सुझाव दिएकाे छ । दैनिक २०।२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिब ४ अर्बको कारोबार र लगभग ६५० इण्डेक्स तथा पुँजीकरणमा गिरावट आएसँगै चेम्बरले सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै विभिन्न सुझावहरु दिएको हो । बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने गरिन्छ तर कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यसमा विश्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्बरको धारणा रहेको छ । अन्य उद्योग व्यवसायको तुलनामा पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या र स-सानो पुँजी लगानी भएका लगानीकर्ताहरु सँख्या धेरै हुनाले स-साना समाचार, नीति र अभिव्यक्तिकै कारण प्रभावित भई सहि निर्णय गर्न नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य हुने अवस्था रहेकाे चेम्बरले बताएकाे छ । यस्ता छन् चेम्बरको १६ बुँदे सुझाव १. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सिमा नै मुख्य कारण रहेकोले उक्त सिमा पूर्ववत नै कायम गर्नु पर्ने र विद्यमान सीसीडी रेसियो हटाई सीडी रेसियो लागु गर्दा ३०० अर्ब हाराहारी लगानी योग्य पुँजी उपयोग विहिन भएकाले माथिका दुबै व्यवस्था पूर्ववत कायम गरिनुपर्ने । २. नेपाल स्टक एक्सचेञ्ज, तथा नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन हुँदा बजारमा अनेक किसिमका विकृतिहरु देखा परेको र नीतिगत रुपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरु सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नया नेतृत्व ल्याइनु पर्ने । ३. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसंग पनि समन्वय गरि गरिनु पर्ने । ४. हाल संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पुँजी बजारमा लगानी गर्न खुल्ला गरिनु पर्ने । ५. अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको स्टक ब्रोकर मार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनी मार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्य रुपमा लागु गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने । ७. संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याईनु पर्ने । ८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने गरि टेक्निकल एनालाइसिस गर्ने गरेकोमा त्यसलाई नियमन गर्न एडभाइजर वा टेक्निकल एनालाइटिस्टको अनुमति दिएर त्यस्ता व्यक्ति वा संस्थाहरुलाई मात्र बजारको बारेमा फोरकास्टिङ्ग गर्न दिने व्यवस्था गर्ने । ९. हाल धेरैभन्दा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफु अनुकुल वा विभिन्न व्यक्ति वा समुहको हितमा सेयर बजार सम्बन्धि समाचारहरु सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरुमा थप अन्यौलता पर्ने हुँदा पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा कोड अफ कन्डक्ट बनाई लागु गरिनु पर्ने । १०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने । ११. अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसन सहितको प्रभावकारी प्रणाली बनाईनु पर्ने तथा प्रविधिको विकास विस्तार र प्रयोगलाई जोड दिईनु पर्ने । १२. बजेट मार्फत धितोपत्र कारोबारमा लाग्ने लाभकरमा भएको बृद्धि हालको संक्रमणकालिन अवस्थालाई मध्यनजर गरि स्थगन गरिनु पर्ने । १३. निश्चित सिमा भन्दा बढी पूँजी भएका वास्तविक क्षेत्रका कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गरिनु पर्ने । १४. फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको सुरुवात गरिनु पर्ने । १५. ब्रोकर कम्पनीहरुलाई सब ब्रोकर, एजेन्ट नियुक्त गर्न दिने तथा शाखा विस्तार गरि देशका सबै तहबाट दोस्रो बजारमा लगानीकर्ताहरुको सहज सहभागिता हुने व्यवस्था गरिनु पर्ने । १६. नेपाल स्टक एक्सचेञ्जको स्तरोन्नती तथा नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गरिनु पर्ने ।

३० प्रतिशत हकप्रद प्रस्ताव गरेको छ्याङ्दीले थप ४० प्रतिशत जारी गर्ने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । हाल ३० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको कम्पनीले थप ४० प्रतिशत पनि जारी गर्ने घोषणा गरेको हो । असोज १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी पश्चात कायम हुने चुक्ता पुँजीमा थप ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । संस्थाले ३० प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेको छ । यसपछि संस्थाको चुक्ता पुँजी ३८ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । त्यसपछि ४० प्रतिशत हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ५४ करोड १७ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले हाल निर्माण गरिरहेको ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्न ऋणको आवश्यक परेकोले थप ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको हो । साथै, सोको लागि आवश्यक दीर्घकालिन ऋण यो योजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंक समक्ष माग गर्ने कम्पनीले जनाएको छ । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गर्नुपर्छ ।