नेपाल बंगलादेश क्यापिटलको १९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १८ गते बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले २०७८ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश(करसहित) पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश सेयरधनीले पाउने भएका छन् । सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ । त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित गरेको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।
वैदेशिक रोजगारमा गएकालाई पेन्सनमा आवद्ध गराउन सिआइटी र आइएमइबीच सम्झौता
काठमाडौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी गराई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो । वैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको निर्माणसँगैं आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको काेषले जनाएकाे छ ।
‘लगानीकर्ताले ८ खर्ब बढी गुमाईसके, तत्काल यी ५ बुँदे माग सम्बोधन गरियोस्’
काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति ध्यानाकर्षण गराएको हो । फोरमले पुँजीबजारले हालसम्ममा ८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको बताएको छ । जुन पुँजीबजारको इतिहासमा सबैभन्दा बढी हो । यसले गर्दा ४४ लाखभन्दा बढी लगानीकर्ताहरु थप मारमा परेका छन् । त्यस्तै, जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण पुँजीबजारमा आपूर्ति बढ्न गएको फोरमको आपत्ति छ । तर, आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पुँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख कारण रहेको फोरमको आरोप छ । साथै, पुँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका मागहरु हालसम्म पनि सम्बोधन नभएकाले पनि पुँजीबजार निरन्तर रुपमा घटिरहेको फोमरले जनाएको छ । त्यसैले, बजारमा लगानीकर्ताको आकर्षण बढाउन र लगानी सुरक्षाको आभाष दिलाई बजारको विश्वसनीयता बढाउनको लागि यथाशीघ्र विभिन्न ५ बुँदे मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । १. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् । २. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् । ३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् । ४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् । ५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।