मध्य भोटेकोशीको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे सेयर ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै साढे ५ लाख जनाले आवेदन दिएका छन् । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा पहिलो दिनमै ५ लाख ५२ हजार १६७ जना आवेदकले आवेदन दिएका हुन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज पौने ६ बजेसम्ममा ८८ लाख ९१ हजार ९७० कित्ता अर्थात ८८ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १.०८५ गुणा बढी आवेदन हो । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा २१०० मा आजिवन डिम्याट खाता

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो । कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने कम्पनीले जनाएको छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

बिओके क्यापिटलको १८ प्रतिशत लाभांश पारित, रजिष्ट्रर्ड कार्यालय नक्सालमा हुने

काठमाडौं । बिओके क्यापिटल मार्केटको प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २० गते सम्पन्न संस्थाको छैटौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १८ प्रतिशतका दरले हुने ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) पाउने छन् । सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै, सभाले विशेष प्रस्ताव अन्तर्गत क्यापिटलको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलले ग्राहकलाई सेवाहरु दिँदै आईरहेको छ । र, भविष्यमा प्रविधिहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने क्यापिटल मार्केटले जनाएको छ ।