मध्य भोटेकोशीको आईपीओमा २.८८ गुणाको आवेदन, हालसम्म कतिले भरे ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २.८८ गुणा बढी आवेदन परेको छ । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा हालसम्ममा सो मात्राको आवेदन परेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साढे ३ बजेसम्ममा १५ लाख ६२ हजार १८० जनाले २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । उनीहरुले कूल २ करोड ३५ लाख ९२ हजार २९० कित्ता सेयर माग गरेका हुन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा २.८८ गुणा बढी हो । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
४५० बढी सहकारीले इसेवामार्फत डिजिटल कारोबार गर्न सक्ने
काठमाडाैं । इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ । इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर/डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा सजिलै लिन सक्नेछन् ! एम बैंक नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ४ सय ५० बढि सहकारीलाई डिजिटलाइज गरिसकेको छ । कम्पनीले सहकरी क्षेत्रमा नयाँ प्रविधि भित्राउँदै सेवा दिँदै आएको छ ।
मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सको शाखाबाट लिन सकिने
काठमाडाैं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आईसिएफसि फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आईसिएफसि फाईनान्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसिएफसि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।