दुर्घटना बीमा निर्देशिका जारी, प्रिमियम न्युनतम २ रूपैयाँ, अवधि मात्र एक वर्ष
काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले कात्तिक २९ गते निर्जीवन बीमा व्यवसाय अन्तर्गतको दुर्घटना बीमा निर्देशिका जारी गरेको हो । समितिका अनुसार यो निर्देशिका छिट्टै कार्यान्वयनमा आउने छ । निर्देशिका अनुसार यो बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि जारी गरिने छ । तर एक वर्षभन्दा लामो अवधिको लागि भने गर्न पाइँदैन । यो अन्तर्गत व्यक्तिगत र सामूहिक गरी दुई प्रकारका दुर्घटना बीमालेख गरिने छ । जुन बीमालेख गराउँदा नै खुलाउनु पर्ने छ । जसमध्ये व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ न्यूनतम बीमा तोकिएको छ । त्यस्तै, २ देखि २५ जनासम्मको सामूहिक दुर्घटना बीमा गर्दा न्यूनतम २ रुपैयाँ, २६ देखि एक सय जनासम्मको लागि न्यूनतम १ रुपैयाँ ७५ पैसा र सो भन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमाशुल्क तोकिएको छ । साथै, बीमाशुल्क गणना गर्दा कम्पनीहरुले प्रतिबीमालेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाउँदैनन् । तर, लघुबीमा अन्तर्गत पर्ने दुर्घटना बीमालेखको हकमा यो व्यवस्था लागू हुनेछैन । त्यस्तै, बीमालेखमा बीमाशुल्क गणना गर्दा कूल बीमाङ्क रकम, लिन चाहेको थप जोखिम बापतको रकम र बीमालेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधोपचारको रकम छुट्टा छुट्टै खुलाउने पर्ने छ । समितिका अनुसार यो बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम शुरु भएको मिति (घण्टा र मिनेटसहित) उल्लेख गर्नुपर्नेछ । उक्त मिति वा जोखिम शुरु भएको मितिको ३० दिनभन्दा बढीको फरकमा भने बीमालेख जारी गर्न नपाईने निर्देशिकामा उल्लेख छ । यस्तो छ निर्देशिका [pdf id=302090]
नेशनल पेमेन्ट स्वीचको पहिलाे चरण सञ्चालनको लागि राष्ट्र बैंकबाट एनसीएचएले पायो स्वीकृति
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजनाअन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि एनसीएचएललाई स्वीकृति प्रदान गरिएको हो । हाल यो स्वीचमा आवद्ध हुन बैंक/वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलगायतसँग समन्वय गरी छिट्टै प्रणाली सञ्चालनमा ल्याउने एनसीएचएलले जनाएको छ । विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गरिएको एनसीएचएलले जनाएको छ । यसका लागि अघिल्लो आर्थिक वर्षमा नेपाल क्लियरिङ्ग हाउसलाई स्विकृति प्रदान गरिएको थियाे । नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुई चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआरलगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ । दोश्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको एनसीएचएलले जनाएको छ । विज्ञप्तिकाे अनुसार नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपछि राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ । यस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुने छ भने नेपालभित्र रहेका क्युआरबीच समेत अन्तरआवद्धता कायम गर्न सकिने छ । सेवावापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ ।
२७ सयको बिन्दु पुगेर फर्कियो नेप्से, पाँच कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आइतबारको सेयर बजार २७०० को बिन्दु पार गरेर फर्किएको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.०५ प्रतिशतले घटी हो । कारोबार शुरु भएदेखि घटबढको क्रममा रहेको परिसूचक दिउँसो पौने २ बजेतिर बढेर २७०४ बिन्दुसम्म पुगेको थियो । त्यसपछि पुनः घटेर अन्त्यमा २६८८ बिन्दुमा झरेको छ । बजारमा परिसूचसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । दिनभरको बजारमा २३० वटा स्क्रिप्टको सो मात्राको कारोबार भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बजारमा विभिन्न ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । जसमध्ये ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने बाँकी एक कम्पनीकोमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् । जसमध्ये बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ८२५ रुपेयाँ पुगेको छ । त्यस्तै, मानुषी लघुवित्त र तेह्रथुम पावर दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १०२१ र ४३९ रुपैयाँ पुगेको छ । त्यसैगरी महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता ७८५ रुपैयाँ पुगेको छ । आइतबार एचआईडीसीएलको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँले घटेर प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ । बजारमा कूल १३ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये ७ वटा समूह हरिया देखिएका छन् भने ६ वटा राताम्मे देखिएका छन् ।