सेन्ट्रल फाइनान्सको लाभांश घोषणा
काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । ७.७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख रुपैयाँ नाघ्ने छ ।
हकप्रद जारी गर्न समृद्धि फाइनान्सले पायो बोर्डको स्वीकृति
काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर जारी नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले मंसिर २९ गते मात्रै फाइनान्सलाई चुक्ता पुँजीको २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई २७ करोड २९ लाख रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । यससँगै संस्थाले बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट मार्फत सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।
थप ४ स्थानमा सिटिजन्स बैंककाे प्रिभिलेज काउन्टर विस्तार
काठमाडौं । सिटिजन्स बैंकले थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको हाे । यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।