दुई कम्पनीले ३८ करोडको हकप्रद सेयर जारी गर्दै, पाए बोर्डको स्वीकृति

काठमाडौं । दोश्रो बजारमा विभिन्न दुई कम्पनीले ३८ करोड ९३ लाख ५ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छन् । छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकले गरी सो मात्राको हकप्रद सेयर जारी गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै यी दुई कम्पनीले हकप्रद जारी गर्न लागेका हुन् । जसमध्ये छ्याङ्दी हाइड्रोपावरले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्काशन गर्ने भएको हो । हाइड्रोले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १५० प्रतिशत अर्थात ३० लाख कित्ता सेयर जारी गर्ने छ । बोर्डले बैंकलाई ३० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै संस्थाले सिभिल क्यापिटल मार्केटबाट सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।

नागरिक लगानी कोषका योगदानकर्तालाई अन्नपुर्ण न्यूरो अस्पतालमा छुट

काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । बिहीबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरी गजुरेलले हस्ताक्षर गरेका छन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा।इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो । सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीले न्युरो अस्पतालबाट उपचार सेवा लिँदा हेल्थ प्याकेजमा १५ प्रतिशत, ल्याबमा १० प्रतिशत, रेडीयोलोजीमा १० प्रतिशत,एम्वुलेन्स सेवामा १० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र सर्जरीमा १० प्रतिशत छुट पाउनेछन् । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

निफ्राको लाभांश पारित, सञ्चालकमा पोखरेल र अधिकारी निर्वाचित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रस्तावित लाभांश पारित भएको छ । मंसिर २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको ८.४२ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले चुक्ता पुँजी २० अर्बको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेमा सुमन पोखरेल र लिमा अधिकारी आचार्य रहेका छन् ।