एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा आव्हान गरेको हो । बैंकले सभामा जाने प्रयोजनको लागि आगामी पुस १५ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यससँगै पुस १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण
काठमाडाैं । कामना सेवा विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्ड, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका छन् । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको जनाएकाे छ ।
सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश पारित
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको ३२.६८ प्रतिशत लाभांश पारित भएको छ । पौष ३ गते सम्पन्न लघुवित्तको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् । यसैगरी साधरणसभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । त्यसै साधरणसभाबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका छन् ।