आईएमई लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड २०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरेको हो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरेका छन् । त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्याएको बताए । कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो । आईएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरे ।
एनआईबीएल एस क्यापिटलले सञ्चालन गर्यो लगानीकर्ता सचेतनामुलक कार्यक्रम
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने सिलसिलामा लुम्बिनी प्रदेशको नेपालगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै सचेतनामुलक कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ । यसअघि यस्तै अन्तर्क्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एनआईबीएल एसका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका छन् ।
एचआईडीसीएल र साना किसान लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई संस्थाको बोनसको लागि मूल्य समायोजन भएको हो । जसमध्ये एचआईडीसीएलको ८ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्य पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २४८.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, साना किसान लघुवित्तको पनि २५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । आइतबार प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजित पछि प्रतिकित्ता ११७६ रुपैयाँ तोकिएको छ । यससँगै, पुस ४ गतेसम्म यी दुई संस्थाको सेयर किन्ने तथा होल्ड गर्नेले गत वर्षको लाभांश पाउने छन् । र, अबको बजारमा यी संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउने छैनन् ।