बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए । उनले पदबाट राजीनामा दिएपछि रिक्त रहेकाे पदमा  सरकारले रिजाललाई सञ्चालककाे रुपमा नियुक्त गरेकाे हाे । उनले अर्थमन्त्रालयबाट आफु नियुक्त भएको पत्र प्राप्त गरिसकेको जानकारी दिए । स्थायी घर दाङ भएका रिजालले अर्थशास्ज्ञमा स्नातकोत्तर गरेका छन् भने अध्यापन पेशामा पनि उनी आवद्द छन् ।  उनले बीमा क्षेत्रको समसामियक नीति निर्माण गर्न आफ्नो विशेष भूमीका र सक्रियता रहने पनि जानकारी दिए ।

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडाैं । समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित भएकाे छ । पौष ७ गते बुधबार सम्पन्न लघुवित्तको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् । यस्तै साधरणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेकाे छ । त्यसैगरी सभाले आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना संचालकलाई निर्वाचित गरेको छ । निर्वाचनमार्फत चयन हुनेमा संस्थापक समुहबाट डम्मर मणि थेवे लिम्बु, राजेश्वर प्रसाद आचार्य, हरिबहादुर भण्डारी र विश्वराम खड्का रहेका छन् भने सर्वसाधारण समुहबाट सर्वसम्मत रुपमा चयन हुनेमा भक्तराम खड्का, अनुपा ओझा र निरंजन पराजुली रहेका छन् । जसमध्ये डम्मर मणि थेवे लिम्बु सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन भएका छन् । साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

तरलताका कारण आत्तिहाल्नु पर्नु अवस्था छैनः अध्यक्ष उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तरलताका कारण अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अहिले तरलताको समस्या रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको धारणा राखे । यस्तै उनले अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउने गरेको बताए । ‘ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउने गरेको छ, कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ,’ उनले भने । उनले अब बैंकहरु पनि सन्तुलित भएर जानुपर्ने धारणा राखे ।