दुई वाणिज्य बैंकसहित ४ कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा विभिन्न ४ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंक र दुई लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । वाणिज्य बैंकमध्ये एनएमबि बैंक र नेपाल एसबिआईको मूल्य समोजन भएको हो । जसमध्ये एनएमबिको १२.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन मूल्य पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३३६.३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल एसबिआईको ३.५० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ३४४.८३ रुपैयाँ कायम भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको क्रमशः २७ र १९ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । यससँगै छिमेक लघुवित्तको प्रतिकित्ता १२४० रुपैयाँ र गणपति लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७४.७९ रुपैयाँ कायम भएको छ । यससँगै आजदेखि यी चार कम्पनीको सेयर खरिद गर्नेले गत वर्षको प्रस्तावित लाभांश पाउँदैनन् ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गकाे साधारणसभा सम्पन्न
काठमाडाैं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ । उक्त सभाले कम्पनीको आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ । यस्तै साधारणसभाले आ.व. २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।
देशकै नं. १ भएको दावी गर्दै नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ अभियान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४० अर्ब ५० करोडको सर्वाधिक दावी भुक्तानी, ७ अर्ब १९ करोडको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाईंसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका सेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष/परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए । ‘हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो’, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘स्थापना कालदेखि आजका मितिसम्म आईपुग्दा तपाईंहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।’ कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो । साथै, योजना मार्फत कम्पनीको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।