प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन, दोब्बरले बढ्यो बोनसदर

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो । पारिमार्जित लाभांश अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन बीमा समितिले स्वीकृति पनि गरिसकेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेकोमा बोनसदर करिब दोब्बरले बढाएर र नगद लाभांशदर घटाएर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यसअघि सेयरधनीलाई बोनस र नगद लाभांश बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांशमा फेरबदल गरेको हो । यससँगै समितिले स्वीकृति दिएको परिमार्जित लाभांशलाई इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने निश्चित हुन्छ । त्यस्तै, इन्स्योरेन्सले आगामी माघ २१ गते भर्च्युअल माध्यमबाट २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ ५ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर पाउने छन् ।

न्यादी हाइड्रोपावरकाे १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । न्यादी हाइड्रोपावरकाे १४औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे सबै प्रस्तावहरु पारित गरेकाे छ । जसअनुसार संचालक समितिको प्रतिवेदन, आ.व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने पारित भएकाे छ । साथसाथै संचालक समितिमा संचालकहरुको संख्या थप गरी सात जना पुर्याएर एक जना महिला संचालक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित हुने व्यवस्थासहित कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव लगायतका प्रस्तावहरु पनि सभाले पारित भएको छ । सञ्चालक समितिका अध्यक्ष ओम प्रकाश श्रेष्ठकाे अध्यक्षतामा सभा सम्पन्न भएकाे थियाे । यस कम्पनीले लमजुङ्ग जिल्लाको मर्स्याङदी गाउँपालिका स्थित न्यादी नदीमा निर्माण गरिरहेको ३० मे.वा.को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य जारी कोभिड १९ र यसका नयाँ भेरियन्टहरुका कारण प्रभावित भएकाे थियाे । सो प्रतिकुल प्रभावका बाबजुद आयोजनाको सिमित क्षमता निर्माण कार्यलाई निरन्तरता दिई हाल सबै निर्माण कार्यहरु सम्पन्न भई ड्राई टेष्टका कार्यहरु समेत सम्पन्न भएको छ।    

नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांश पारित, संचालकमा दुई जना चयन

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस( एनसिएचएल)काे ४० प्रतिशत लाभांश पारित भएकाे छ । एनसिएचएलकाे पुस २८ गते सम्पन्न दशाैं साधरणसभाले उक्त लाभांश पारित गरेकाे हाे । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे । कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७/७८मा कम्पनीको खुदनाफा ३८% ले वृद्धी भएको छ सभाले जनाएकाे छ । त्यसैगरी कम्पनीले कुलपूँजीतथाजगेडा कोषकोअनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र वृद्धि भएको हाे । बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।