सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सबैले ओम हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका सबैले ओम हस्पिटलमा विशेष छुट पाउने भएका छन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीले ओम हस्पिटलमा स्वास्थ्य सम्वन्धि आवश्यक सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । उक्त स्वास्थ्य सेवा सम्बन्धमा इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता भएको छ । इन्स्योरेन्सले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् । कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुग्ने उद्देश्यले कम्पनीले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यस सम्झौताले कम्पनीसँग आबद्ध भएका सबै लाभान्वित हुने कम्पनीको विश्वास छ । र, आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने इन्स्योरेन्सको योजना छ ।

खप्तड लघुवित्त दोश्रो वार्षिक साधारण सभा सम्पन्न, संचालन मुनाफा ३४ लाख पुग्याे

काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव पारित गरेको छ । लघुवित्तकाे चालु आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बमले जानकारी दिएका छन् । साथै उनले यसै आर्थिक वर्षभित्रमा सुदुरपश्चिम प्रदेशभित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका का.मु. व्यवस्थापक सुशील ज्ञवाली रहेका थिए भने कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुरेश बहादुर बमले गरेका थिए ।

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । पराजुलीले पुस २५ गते आइतबारबाट सिनियर डिसिओको कार्यभार सम्हालेका छन् । पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ,’  पराजुलीले बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सिइओ थिए ।