इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य भएको कम्पनीको पूँजी संरचनाअन्तर्गत रु पाँच अर्ब अधिकृत पूँजी छ । कम्पनीको हालको जारी पूँजी ५५ करोड ५६ लाख बराबरको तथा चुक्ता पूँजी ५० करोड ४० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।
‘बीमा कम्पनीको नयाँ लाइसेन्स दिदैनौं, बरु संख्या घट्ला’
काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लागि लाइसेन्स नदिने मनस्थिति बनाएको छ । नयाँ लाइसेन्सको लागि तिब्र दबाब परिरहेको समयमा समितिले नयाँ लाइसेन्स नदिने दाबी गरेको हो । नेपालको आर्थिक आकार र भुगोल अनुसार अहिले भएका कम्पनीहरु नै पर्याप्त भएकोले नयाँ लाइसेन्सको आवश्यकता नदेखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘नयाँ कम्पनीको लागि लाइसेन्स दिने तयारी र योजना केही छैन, अहिले भएका कम्पनीहरु नै पर्याप्त छन् भन्ने समितिको ठहर छ, त्यसैले नयाँ कम्पनी संचालनको लागि लाइसेन्स दिइदैन,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । उनले भएकै कम्पनीलाई बलियो बनाउँदै जाने रणनीति अख्तियार गरिएको पनि बताए । अहिले संचालनमा रहेका कम्पनीहरुको पुँजी आधार ठूलो बनाउन समितिले नगद लाभांश वितरणमा रोक लगाएको छ । कम्पनीहरु आफ्नो नाफाबाट सेयरधनीलाई बोनस सेयर प्रदान गरी चुक्ता पुँजी बृद्धि गरिरहेका छन् । ‘अहिले भएका कम्पनीहरु नै नेपालको लागि बढी भए कि भन्ने कोणबाट प्रश्नहरु उठिरहेका छन्, त्यसैको लागि हामी अध्ययन नै गर्दैछौं, कम्पनीको संख्या बढी भयो भन्ने अध्ययनले देखायो भने मर्जर र एक्वीजीसनमा बढी जोड दिनुपर्ने अवस्था आउँला, त्यसैकारण कम्पनीको संख्या बरु घट्ला, नयाँ लाइसेन्स दिएर संख्या बढाउने काम हुदैन,’ कार्यकारी निर्देशक पौडेलले भने । यद्यपि, लघु बीमाको लाइसेन्स भने दिने सोचमा समिति छ । बीमाको दायरा बढाउनको लागि ग्रामीण तहसम्म पुग्न लघु बीमा आवश्यक देखिएकोले त्यस्ता कम्पनीको नयाँ लाइसेन्स दिने तयारी समितिले गरेको छ । तर, कति संख्यामा लाइसेन्स दिने भन्ने यकिन भइसकेको छैन । नयाँ कम्पनीको लाइसेन्स माग्नेको ओइरो समितिमा दिनदिनै नयाँ कम्पनीको लाइसेन्स माग्दै निवेदन दर्ता गर्नेको ओइरो लाग्न थालेको छ । अहिलेसम्म लघु बीमा कम्पनीको लागि १८ वटा निवेदन दर्ता भइसकेका छन् । यस्तै, निर्जीवन बीमा व्यवसायको लाइसेन्स माग्दै मनकामना, अभियान, गरिमा, मुक्तिनाथ, माछापुच्छ्रे, उपकार लगायतका प्रस्तावित नामका कम्पनी समिति पुगेका छन् । यसमध्ये गरिमा विकास बैंक संचालन गरिरहेको समुहले गरिमा जनरल, मुक्तिनाथ विकास बैंक संचालन गरिरहेको समुहले मुक्तिनाथ जनरल र उपकार सहकारी संस्था संचालन गरिरहेको समुहले उपकार जनरल इन्स्योरेन्स कम्पनीको नाममा लाइसेन्स मागेको हो । मनकामना जनरल भने यसअघिका अध्यक्ष चिरन्जिवी चापागाईंको पालामै लाइसेन्स माग्दै दर्ता भएको कम्पनी हो । पूर्व अध्यक्ष चापागाईंकै कार्यकालमा लाइसेन्स माग्दै दर्ता भएका युनि लाइफ र स्ट्याण्डर्ड लाइफले लाइसेन्स दिनको लागि समितिसँग फेरि माग गरेका छन् । यी दुबै कम्पनीले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको अनुमति मागेका हुन् । उपकार सहकारी संस्था चलाउने समुहले उपकार लाइफ इन्स्योरेन्स कम्पनीको पनि लाइसेन्स मागेका छन् । यस्तै, जीवन बीमा व्यवसाय गर्नको लागि अनुमति माग्दै पायोनियर लाइफको तर्फबाट पनि निवेदन दर्ता भएको समिति स्रोतले जानकारी दियो ।
नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गको व्यवस्थापन शुल्कमा १ वर्ष शतप्रतिशत छुट
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा लगानी व्यवस्थापन सेवा लाग्ने वार्षिक शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी उक्त अफर ल्याएको जनाएको छ । कम्पनीको अनुसार यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एन्यालिस्ट तथा गहन विश्लेषण, रिर्सच को आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । साथै यसमा लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै बेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सक्नुको साथै यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसँग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सक्ने कम्पनीले जनाएको छ । संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।