५ दिनमै बाँडफाँड हुँदै जाल्पा सामुदायिक लघुवित्तको आईपीओ, पौने ४९ हजारले पाउने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ५ दिनमै बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत माघ २५ गते निष्काशन बन्द गरेको आईपीओको बाँडफाँड फागुन १ गते आइतबार गर्न लागेको हो । क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आज साँझ ५ बजे काठमाडौंको बालुवाटारस्थित टाइम स्क्वायर रेष्टुरेन्टमा हुन लागेको हो । लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको थियो । र, बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो । उक्त आईपीओमा हालसम्मकै उच्च आवेदन परेको थियो । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार संस्थाको सेयरमा ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयर माग गरेका हुन् । जुन सर्वसाधारणमा गरेको भन्दा ६६.६५ गुणा बढी हो । यससँगै मागभन्दा बढी आवेदन परेकोले क्यापिटलले गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्ने छ । यसअनुसार ४८ हजार ७ सय ९० जनाले मात्रै लघुवित्तको सेयर हात पार्नेछन् भने बाँकीको हात खाली हुने देखिएको छ ।

१०३.७९ प्रतिशतको वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सिटिजन लाइफ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १०३.७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रहेकोमा यस पौष मसान्तमा सो रकम ४ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमाशुल्क १ अर्ब ४० करोड २१ लाख रुपैयाँ संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड ३१ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७७.१० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बीमा कोषमा १०३.७९ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११.७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाख रुपैयाँको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी ३२ करोड ७९ लाख पुर्याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ७ अर्ब ६४ करोड मध्ये करिब ७४.६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले दुई दिनमै भुक्तानी गर्यो मृत्यु दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्यु दावीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । २०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु) ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरे । कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक अनुज कुमार झा, सहायक प्रियङ्का कार्की र बरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो ।