जानकी फाइनान्ससँगै दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जानकी फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जानकी फाइनान्सको १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ६७७.१० रुपैयाँलाई आधार मानिएको संस्थाको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५८८.७८ रुपैयाँ कायम भएको छ । ज्योति लाइफको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । समायोजन पछि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३३२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १९४३.३३ रुपैयाँ कायम भएको छ ।
मेटलाइफ फर्चयुन म्यागजिनको विश्वको उत्कृष्ट बीमा कम्पनीहरुको सूचिमा
काठमाडौं । मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा परेको छ । कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । मेटलाइफको अनुसार प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।
जाल्पा सामुदायिकको आईपीओ अपडेटः दुई दिनमै पर्यो अर्बौं बढीको आवेदन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा मागभन्दा बढी ४४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दुई कार्यदिनमै ४४.५८ गुणा आवेदन परेको हो । माघ २३ गते साँझ ५ बजेर २ मिनेटसम्मको अपडेट अनुसार २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयरको लागि आवेदन परेको हो । यो अवधिसम्म १७ लाख ५४ हजार ५१७ जना आवेदकले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका सिडिएससीले जनाएको छ । जुन सर्वसाधारणमा माग गरेको तुलनामा करिब ४४.५८ गुणाले बढी हो । लघुवित्तले सर्वसाधारणमा ४ लाख ८७ हजार ९०० कित्ता सेयर माग गरेको हो । लघुवित्तले सर्वसाधारणलाई सहित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरिरहेको छ । जसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिएको छ । यससँगै इच्छुकले माघ २१ गतेदेखि छिटोमा माघ २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ । इच्छुकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एप मार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । तर संस्थाले बिक्रीमा राखेको आईपीओको कित्ता एकदमै न्यून भएकाले लगानीकर्ताले १० कित्ताको लागि मात्र लगानी गर्दा उपयुक्त हुने देखिन्छ । त्यस्तै, आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । संस्थाले आईपीओ निष्काशनका लागि इक्रा रेटिङ्ग नेपालबाट इक्रा एनपी आईआर डबल बि रेटिङ्ग पाएको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल १० करोड ७८ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी आईपीओ बाँडफाँडपश्चात १६ करोड रुपैयाँ नाघ्ने छ ।