महालक्ष्मी लाईफले सहायक कम्पनी ल्याउने, कार्ययोजना बनाउन भयो सहमति
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सहायक कम्पनीले ल्याउने भएको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभामा कम्पनीको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको हो । त्यस्तै, सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको रकमको अनुमोदन गरेको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजार रुपैयाँ खर्चको अनुमोदन गरेको हो । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा माघ २७ गते कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । त्यस्तै, सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । र, स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति समेत अनुमोदन गरेको छ ।
कार्यभार सम्हाल्दै नेप्सेका सीईओ कार्कीले भने- बजारको लागि सकारात्मक भूमिका खेल्छु
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यभार सम्हालेका छन् । सीईओ कार्कीले माघ २६ गते बुधबार पदबहाली गरी आफ्नो कार्यभार सम्हालेका हुन् । उनले नेप्सेका सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म नेप्सेको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि गत सोमबार नै कार्यभार सम्हाल्ने तयारीमा रहेका कार्कीले आफ्नो व्यक्तिगत कामले गर्दा केही ढिला भएको बताएका छन् । आफ्नो पदभार ग्रहण गर्दै सीईओ कार्कीले आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्स्चेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् । पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् । ‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने । साथै, कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनी बताउँछन् । ‘पहिला कार्यभार सम्हालौं, त्यसपछि संस्थाका व्यवस्थापकीय टीमहरुसँग बसेर थप अध्ययन अनुसन्धान गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्य छ,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘अब कार्यभार सम्हालेको २/३ हप्ताभित्र आफ्नो योजना सार्वजनिक गर्ने छु ।’ अहिले बाहिरी दृष्टिकोणले हेर्दा नेप्सेमा केही नीतिगत स्वार्थ, केही संरचनागत संस्थाका कुराहरु छन्, कार्यक्षेत्र विकास लगायत ब्रोकरको पूर्वाधार विकासमा केही सुधार गर्नुपर्ने देखिएको उनको भनाई छ । जसलाई सुधार गर्न आफ्नो प्रयास जारी रहने र त्यसमा सबैको साथ सहयोग पाइनेमा उनी विश्वस्त छन् । सम्बन्धित समाचारः नेप्सेका नवनियुक्त सीईओ भन्छन्ः तीन कार्ययोजना बनाएर अघि बढ्छु
लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो दुई वर्ष यताकै उच्च बोनस
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर गत दुई वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको क्रमशः ८.१२५ प्रतिशत र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस र नगदसहित कूल लाभांश भने क्रमशः ८.५३१ र १० प्रतिशत वितरण गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । ९.५२३८१ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।