वोमी र सूर्यदय लघुवित्तलाई मर्जर स्विकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान गरेको हो । स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय र काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने बताइएको छ ।
बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झाैता
काठमाडाैं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवंम पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने बताए । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष ओलीले बीमा कम्पनीहरूमा एनएफआरएसको कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गरे । बीमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बीमा कम्पनीका वित्तीय गतिविधिहरूलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाई संस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले समिति र संस्थाबीच सम्झौता भएको हो । सम्झौतामा बीमा कम्पनीहरूमा एनएफआरएको कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बीमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ । यसैगरी, बीमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यहरूलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एकआपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
एलआईसी नेपालकाे २१.०५२ प्रतिशत लाभांश पारित
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर र १.०५२ प्रतिशत नगद लाभांश पाउने छन् । एलआईसीले आ.व.२०७६/७७ मा कूल १,५०,६२९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशूल्क आम्दानी बापत ३७५२.९७ करोड आर्जन गर्न सफल भएको र उक्त आ.व. को अन्त्यमा ७,६४,३७८ बीमालेखहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएकाे छ । २०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २४.१७ प्रतिशतले बढेर ६६८४९.६९ मिलियन भएकाे छ जुन अहिलेसम्मकै उच्च बिन्दु हाे । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६.११ प्रतिशतले बढेको थियो । त्यसैगरी साधारण सभाले कम्पनीको केही संस्थापक शेयरधनीहरुको आफ्नो स्वामित्वमा भएको कूल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक शेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्तावलाई सर्वसहमतिले पारित गरेको छ ।