नेष्डो समृद्ध लघुवित्तकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । मंगलबार लघुवित्त संस्था र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेष्डो समृद्ध लघुवित्तले २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा घ वर्गको लघुवित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरेको थियो । यस वित्तीय संस्थाले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आइरहेको छ ।
अनुमति पायौं भने नेष्डोले शतप्रतिशत लाभांश दिन सक्छः प्रबन्ध सञ्चालक प्रसाईं
काठमाडौं । नेष्डो सम्वृद्ध लघुवित्तका प्रबन्ध सञ्चालक विश्वप्रकाश प्रसाईंले आफ्नो कम्पनीको शतप्रतिशत लाभांश दिन सक्ने हैसियत भएको बताएका छन् । मंगलबार नेष्डो सम्वृद्ध लघुवित्तले सेयर बाँडफाँट तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रमकाे आयाेजना गर्दै उनले नेष्डा सम्वृद्ध लघुवित्तको जगेडा कोष लगायतका सूचकहरु बलियो रहेको र नियामकले लाभांशको सीमा नतोक्यो भने शतप्रतिशत लाभांश दिने हैसियत भएको धारणा राखे । ‘लघुवित्तको पूँजी सानो छ, काम गराई उत्कृष्ट छ, रातदिन काम गर्छन्, अनि लाभांश बढी हुन्छ, नेष्डो लघुवित्तले चाह्यो भने वा हामीले दिन पायौं भने हाम्रो जगेडाका आधारमा एक सय प्रतिशत लाभांश दिन सक्छौं, शतप्रतिशत लाभांश दिने हैशियत छ तर, दिन मिल्दैन,’ उनले भने । उनले लघुवित्तले गरिबलाई मारेर वा अन्य नै काम गरेर लाभांश नदिएकोले यसमा अनावश्यक अंकुश लगाउन नहुने धारणा राखे । यस्तै, उनले राष्ट्र बैंकले लघुवित्तका लागि व्याजदरको सीमा तोकेर अनावश्यक काम गरेको पनि गुनासो गरे । वाणिज्य बैंकहरुले मुद्धति निक्षेपमै ११ प्रतिशत व्याज दिइरहेको बेला लघुवित्तलाई कर्जाको व्याजमा १५ प्रतिशत सीमा तोक्नु अन्याय भएको धारणा राखे ।
नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा धनगढीमा धितोपत्रबारे साक्षरता कार्यक्रम संचालन
काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङले सूदुरपश्चिम प्रदेशको धनगढीमा धितोपत्र बजारबारे जानकारी मूलक कार्यक्रम संचालन गरेकाे छ । नेपाल धितोपत्र बोर्डबाट जारी गरेकाे निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्यक्रम संचालन गरेकाे हाे । कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंङ विभाग प्रमुख विकाशचन्द्र भण्डारीले नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी दिएका थिए । धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा कम्पनीका उक्त कार्यक्रम संचालन गरिसकेकाे छ । स्थापना कालको १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ५० लाखभन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।