काठमाडौं । नेष्डो सम्वृद्ध लघुवित्तका प्रबन्ध सञ्चालक विश्वप्रकाश प्रसाईंले आफ्नो कम्पनीको शतप्रतिशत लाभांश दिन सक्ने हैसियत भएको बताएका छन् ।
मंगलबार नेष्डो सम्वृद्ध लघुवित्तले सेयर बाँडफाँट तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रमकाे आयाेजना गर्दै उनले नेष्डा सम्वृद्ध लघुवित्तको जगेडा कोष लगायतका सूचकहरु बलियो रहेको र नियामकले लाभांशको सीमा नतोक्यो भने शतप्रतिशत लाभांश दिने हैसियत भएको धारणा राखे ।
‘लघुवित्तको पूँजी सानो छ, काम गराई उत्कृष्ट छ, रातदिन काम गर्छन्, अनि लाभांश बढी हुन्छ, नेष्डो लघुवित्तले चाह्यो भने वा हामीले दिन पायौं भने हाम्रो जगेडाका आधारमा एक सय प्रतिशत लाभांश दिन सक्छौं, शतप्रतिशत लाभांश दिने हैशियत छ तर, दिन मिल्दैन,’ उनले भने ।
उनले लघुवित्तले गरिबलाई मारेर वा अन्य नै काम गरेर लाभांश नदिएकोले यसमा अनावश्यक अंकुश लगाउन नहुने धारणा राखे । यस्तै, उनले राष्ट्र बैंकले लघुवित्तका लागि व्याजदरको सीमा तोकेर अनावश्यक काम गरेको पनि गुनासो गरे ।
वाणिज्य बैंकहरुले मुद्धति निक्षेपमै ११ प्रतिशत व्याज दिइरहेको बेला लघुवित्तलाई कर्जाको व्याजमा १५ प्रतिशत सीमा तोक्नु अन्याय भएको धारणा राखे ।