नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत पछि कम्पनीको साधारण सेयर ४ करोड २ लाख कित्ता हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी करिव ७ अर्ब २० करोड रुपैयाँ छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ हुने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीले ९ प्रतिशत प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ । हाल कम्पनीमा ६० प्रतिशत प्रवर्द्धक र ४० प्रतिशत साधारण सेयर रहेको छ । फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । प्रवर्द्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउने प्रस्ताव कम्पनीले वार्षिक साधारणसभामा पेश गर्दैछ । कम्पनीले चैत २१ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ । कुनै पनि कम्पनीको साधारण सेयर थपिएपछि बजार मूल्य घट्ने गरेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १२०० देखि १३०० को बीचमा कारोबार भैरहेको छ । विगत ५२ हप्तामा यस कम्पनीको अधिकृत मूल्य प्रतिकित्ता ३००० रुपैयाँसम्म पुगेको थियो ।

काभ्रेको मिर्मिरे लघुवितले रुपन्देहीको बुद्धज्योतीलाई प्राप्ती गर्ने, जेठभित्रै एकिकृत कारोबार

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाण्डौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाटअध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो । संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को माघ मसान्त सम्ममा अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले माघ मसान्त सम्ममा २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए । सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा उप प्रादेशिक कार्यालयहरुको संरचना सहित कार्य संचालन गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआरको सुरुवात

काठमाडौं । एनसिएचएले नेपाल–क्युआर स्ट्याण्डर्डको नेपालपे क्युआर संचालनमा ल्याएको छ । केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा एनसिएचएलले नेपालपे क्युआर शुक्रबारबाट सञ्चालनमा ल्याएको हो । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । यसरी अन्तर आवद्धता कायम गर्न सकिने हुँदा उक्त नेपालपे क्युआरले नेपालमा क्युआरबाट हुने भुक्तानीलाई थप प्रवर्धन र सहज गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । हालकाे लागि हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आइपिएस लगायतका मोबाईल एपबाट नेपालपे क्युआर स्क्यान गरी कारोबार गर्न सकिने छ । साथै नेपालपे क्युआरको पूर्वाधारमा हिमालय बैंक, एनआइसी एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस् मार्फत क्युआर अक्वायर्डको कार्य पनि सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ । यस्तै हिमालयन बैंक र फोकसवान सोलुसन्स्बीच भने मर्चेन्ट स्तरको अन्तरआवद्धता कायम गर्ने गरी व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ । यस अन्तर्गत एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे र नेपालपे क्युआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिनेछ ।