काठमाडौं । अब एनसिएचएल बैंक सेन्ट्रल कर्पोरेटपे प्रणाली मार्फत २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने भएको छ ।
नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको कर्पोरेटपे प्रणालीमार्फत पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने भएको हो ।
विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात एनसिएचएलले कारोबार सीमा वृद्धि गरेको हो ।
यस्तै बैंक/वित्तीय संस्थाका ग्राहकहरुले कर्पोरेट पे मार्फत पब्लिक नेटवर्कबाट अन-अस(पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) मा १ करोड र प्राइभेट नेटवर्कबाट अन-असमा ५ करोडसम्म भुक्तानी गर्न सक्नेछन् ।
एनसिएचएलको अनुसार वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोडसम्म र रियल टाइम भुक्तानी २० लाखसम्म नै लागू हुनेछ ।
नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुने एनसिएचएलले जनाएको छ । एनसीएचएलले हाल कनेक्ट आइपिएस, बैंक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको छ ।
एनसीएचएलले एनसिएचएल-इसिसि, कनेक्टआइपिएस, कनेक्टआरटिजिएस, एनपिआइ, कर्पोरेट पे लगायत विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु सञ्चालन गर्दै आएको छ भने हाल यसले क्युआर लगायतका कार्ड रहित भुक्तानीको विस्तारका निम्ति नेशनल पेमेन्ट स्वीच पनि कार्यान्वयनमा र ल्याएकोछ । हाल एनसीएचएलमा ६० बैंक वित्तीय संस्था आवद्ध रही ५ हजार ७०० भन्दा बढी बैंक शाखाहरु मार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन् भने यसमा ८७ वटा गैर–बैंकिङ्ग संस्था इन्डाइरेक्ट टेक्निकलसदस्यका रुपमा जोडिएका छन् ।