एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने
काठमाडौं । गोल्डेनगेट इन्टरनेशनल कलेजअन्तर्गतको गोल्डेनगेट बास्केटबल क्लबले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जेठ ८ र ९ गते काठमाडौंको बत्तीसपुतलीस्थित कलेज परिसरमा सञ्चालन हुने जनाइएको छ । विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ । १३ पटक राष्ट्रिय च्याम्पियन बनेको क्लबले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ । प्रतियोगितामा विजेता टोलीले २० हजार रुपैयाँ तथा उपविजेता टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडीलाई बास्केटबल जुत्ता प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई वरिष्ठ प्रशिक्षक मनिष नाकर्मी तथा राष्ट्रिय खेलाडीहरूको प्रशिक्षणमा सञ्चालन हुने १५ दिने निःशुल्क बास्केटबल क्याम्पमा सहभागी हुने अवसर समेत प्रदान गरिनेछ । कलेजका अनुसार सहभागी एसईई उत्तीर्ण विद्यार्थीहरूले कक्षा ११ मा विशेष छात्रवृत्तिमा भर्ना हुने अवसर पनि पाउनेछन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गोल्डेनगेट बास्केटबल क्लबमा आबद्ध हुने अवसर समेत दिइने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन प्रति टोली १ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् । आयोजकले एसईई दिएका सम्पूर्ण विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्न आग्रह गरेको छ ।
केयुको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन थिए । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।
त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले विश्वविद्यालयको दैनिक कार्यसञ्चालनका लागि बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् । बज्राचार्य डिपार्टमेण्ट अफ आर्किटेक्चर एण्ड अर्वान प्लानिङ्गमा कार्यरत उनलाई तत्कालिन सरकारले २०८१ मंसिरमा डीन नियुक्त गरेको थियो । गत वैशाख १७ गते तत्कालिन उपकुलपति प्रा.डा. दीपक अर्यालले राजीनामा दिएसँगै उपकुलपति पद रिक्त थियो । नयाँ उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन भई आवेदन समेत माग भइसकेको छ ।