आइक्यानको अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लिए शपथ, उपाध्यक्षमा काफ्ले

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र उपाध्यक्ष सीए हेमकुमार काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार आयोजित समारोहमा महालेखापरीक्षक तोयम रायासमक्ष अध्यक्ष वाग्लेले शपथ लिएपछि उनले उपाध्यक्ष काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सीए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए ।

समारोहका क्रममा बंगलादेशमा आयोजित साफा क्विज–२०२५ र साफा पब्लिक स्पिकिङ प्रतियोगिता–२०२५ का विजेता आइक्यानका विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, संस्थाको ब्रान्डिङ र संस्थागत पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आइक्यानको नयाँ आधिकारिक लोगो पनि सार्वजनिक गरिएको छ ।

शपथ ग्रहण समारोहअघि आइक्यानले ‘डाइनामिक्स अफ बिजनेस भ्यालुएसन’ विषयमा सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा व्यवसाय मूल्याङ्कनका नयाँ प्रवृत्ति, विभिन्न मूल्याङ्कन विधि, व्यावहारिक प्रयोग तथा बदलिँदो व्यावसायिक वातावरणमा यसको बढ्दो महत्त्वबारे प्रस्तुति दिइएको थियो ।

त्यस अवसरमा आइक्यानले हालै प्रकाशन गरेको ‘आइक्यान भ्यालुएसन म्यानुअल–२०८३’ पनि सार्वजनिक गरिएको छ । मूल्याङ्कनसम्बन्धी सिद्धान्त, अभ्यास र व्यावसायिक मापदण्डलाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राविधिक सन्दर्भ सामग्रीका रूपमा उक्त म्यानुअल तयार गरिएको संस्थाले जनाएको छ ।

Share News