१०० रुपैयाँ भन्दा बढीको नोट प्रतिबन्द लगाउनुपर्छ-सुरेन्द्र पाण्डे

  सुरेन्द्र पाण्डेपूर्व अर्थमन्त्री [divider] आन्तरिक उत्पादन घट्दै गएको छ र वैदेशिक व्यापार घाटा सात खर्ब पुग्दैछ । यो समस्याको समाधान के हुन सक्छ ? पहिलो कुरो, नेपालको आन्तरिक उत्पादन घटेको छैन्, माग मात्रै बढेको हो । आन्तरिक उत्पादन स्थिर रहँदा पनि माग बढ्न सक्छ । जब मान्छे धनी हुन थाल्छ अनि उसलाई भेराईटी अर्थात धेरै परिकार चाहिन्छ । गरिब हुँदा घरमा जे पाक्यो त्यहि खाने हो तर धनी भएपछि धेरै परिकार चाहाने मानविय स्वभावका कारण माग बढेको हो । शहरीकरणले मागलाई झनै बढाउँछ । मान्छेले जीवनमा गर्ने भनेको खाने र लाउने नै हो । त्यसपछि उपचार र मनोरञ्जन हो । खाने लगाउने भित्र पनि मनोरञ्जन छिर्दै जान्छ । गरिब हुँदा एकजोरले पुग्ला तर धनी भएपछि राम्रा र धेरै जोर लुगा चाहिन्छ । यसरी आन्तरिक उत्पादनभन्दा मागको वृद्धि धेरै भएकोले बैदेशिक व्यापार घाटा बढेको हो । कति वर्षपछि नेपालको माग कति बढ्ला ? कति प्रतिशत जनता शहरमा बस्लान् ? कति जनतालाई शहरमा बसाउने भन्ने बारेमा अहिलेसम्म कुनै अध्ययन नै भएको छैन । कति माग हाम्रो उत्पादनले धान्ला वा कति प्रतिशत आयात गर्नुपर्ला ? कति निर्यात गर्न सकिएला भनेर हामीले कुनै अध्ययन गरेका छैनौ । यी विविध पक्षको अध्ययन गरेर आर्थिक योजनाहरुको निर्माण आवश्यक छ । कसरी उत्पादन वृद्धि गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बारे तपाईको सोच के छ ? हाम्रो अर्थतन्त्रको मुल समस्या भनेको बेरोजगारी हो । बेरोजगारीको कारण चाँही न्यून आर्थिक वृद्धि छ । अब रोजगारी सिर्जना र उच्च दरको आर्थिक वृद्धि हासिल गर्न विभिन्न क्षेत्रलाई प्राथमिकता राखेर लगानी प्रोत्साहित गर्नुुपर्छ । नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि नै हो । कृषिको आधुनिकीकरण आवश्यक छ । कृषिमा बिशेष योजनासहित अनुदान दिनुपर्छ । उदाहरणको लागि काभ्रेमा तरकारी, पाल्पा गुल्मीमा कफी, हुम्ला जुम्लामा स्याउ, इलामका किसानलाई चिया र अलैँचीमा बिशेष सहुलितय दिनुपर्छ । जुन क्षेत्रमा जे उत्पादनको सम्भावना बढी छ, उत्पादकत्व बढी छ त्यो क्षेत्रमा त्यही कृषि उपज उत्पादनमा मात्र अनुदान दिने कार्यक्रम बनाईनुपर्छ । चिया उत्पादन क्षेत्र घोषणा गरिएको क्षेत्र चियाबाहेक अन्य बस्तु उत्पादन गर्छ भने उसले राज्यले दिने सुविधा पनि पाउँदैन । यस्तो उत्पादन विशेष क्षेत्रमा सडक, विजुली, गोदाम गृह लगायत आवश्यक पूर्वाधार बनाउन राज्यले लगानी गर्नुपर्छ । ती क्षेत्रमा लगानी गर्नेलाई ऋणको व्याजमा अनुदान, बीमाको प्रिमियममा अनुदान दिन सकिन्छ । १५ वर्षसम्म कर छुट दिने, १६ औं वर्षमा कर लगाउने व्यवस्था गर्न सकिन्छ । साथै, जमिनको वर्गिकरण पनि जरुरी छ । कुन जमिनमा के गर्न पाउने, के गर्न नपाउने भनेर घोषणा गर्नुपर्छ । कृषि जमिन, आवासीय जमिन, औद्योगीक जमिन, वन जमिन, चरन क्षेत्र लगायतका जमिनको विभाजन आवश्यक छ । कृषि जमिनमा अरु काम गर्न नपाउने व्यवस्था गर्नुपर्छ । यसो गरियो भने उत्पादनहरुको विशिष्टकरण सुरु, उत्पादन वृद्धि हुन्छ । कृषिपछि पर्यटन क्षेत्रमा हामीले धेरै रोजगारी सिर्जना गर्न सक्छौं । अहिलेसम्म हावा तालमा पर्यटन प्रवद्र्धन गरिँदै आएको छ । सर्बे गरेर १० वटा पर्यटन गन्तब्य पत्ता लगाएर त्यहा विभिन्न सुबिधा घोषणा गर्नुपर्छ । त्यहाँ आधारभूत सुविधा विकास गर्ने र ऋणमा पनि सुबिधा दिनुपर्छ । त्यसका साथै १५ वर्षसम्म आयकर छुट दिनुपर्छ । त्यसपछि मात्रै पर्यटन प्रवद्र्धन हुन्छ र त्यसबाट रोजगारी पनि सिर्जना हुन्छ । अर्काे महत्वपूर्ण क्षेत्र भनेको उर्जा हो । सरकारले ३० वर्षसम्म ट्रान्समिसन लाईन बनाउने योजना बनाएको हुँदैन तर लगानीकर्ताको लागि सरकारले दुई वर्षको लाईसेन्स दिएको छ । यो हचुवाको भरमा गरिएको काम हो । सरकारले पाँच वर्ष भित्र ट्रान्समिसन लाईन बनादिने घोषणा गर्दै एक पटकमा १० वटा नदिका लागि लाईसेन्स खोल्नुपर्छ । अर्को चरणमा त्यसरी नै काम गर्दै जानुपर्छ । विदेश निर्यातका लागि कसैले आफैं नयाँ नदि माग्यो भने ट्रान्समिसन समेत आफैं बनाउने सर्त सहित लाईसेन्स दिन सकिन्छ । सडक रोजगारी सिर्जना गर्ने अर्को महत्वपूर्ण माध्यम हो । नेपाल सरकारले जम्मा सात लाख मानिसलाई रोजगारी दिएको छ तर पूर्व पश्चिम राजमार्गले कम्तिमा पनि १० लाखलाई रोजगारी दिएको छ । त्यसैले पाँच वटा राष्ट्रिय राजमार्ग बनाऔं र १० वटा शहर बनाऔं, त्यसले ७५ प्रतिशत जनता शहरमा पुग्छन् । त्यसले धेरै प्रकारको आर्थिक गतिविधिलाई मलजल गर्छ । कृषिको लागि जग्गाको समस्या हट्छ । हाम्रो शिक्षा प्रणाली घोकन्ते भयो । अर्काले लेखेर दिएको पुस्तक पढेर मात्रै केहि हुन्न । ८५ प्रतिशतले साधारण शिक्षा अर्थात आर्टस, कमर्श, शिक्षा अध्ययन गर्छन् । १५ प्रतिशतले प्राविधिक शिक्षा अध्ययन गर्छन् । प्राविधिक पढ्ने १५ प्रतिशतको ९० प्रतिशत रोजगार छन् तर ८५ प्रतिशत साधारण विषय अध्ययन गर्नेहरु ९० प्रतिशत बेरोजगार छन् । अब साधारण विषयको अध्ययन बन्द गरेर सबैलाई प्राविधिक शिक्षा दिनुपर्छ । केहि वर्षपछि मात्रै एक जना प्राविधिक तथा एक जनालाई साधारण शिक्षा दिने नीति लिन सकिन्छ । उद्यमशीलताको विकास गर्ने खालको नीति लिनु जरुरी छ । मारवाडीहरु राजेष्थानबाट बसाईँ सरेर युपी र दिल्ली आएर जागिर खोजेनन्, धान फलाउन लागेनन्, व्यापारमा लागे । त्यसले उनीहरुलाई कहाँबाट कहाँ पु¥यायो । तर नेपालीहरु पहाडबाट तराई झरे तर त्यहाँ पनि धान फलाउन थाले । सहर पसे, जागिरमा लागे । विदेश गए, जागिरै खाए । उद्यमशीलता विकास गर्न तिर लागेनन् । हामीले व्यवसायिकता तिर कहिल्यै लागेनौं । एउटा मारवाडीको छोराले जन्मजातै व्यापार सिक्छ, २५ गते भ्याट दिर्नुपर्छ भनेर सिक्छ । मसान्त आयो बैंकको व्याज तिर्नुपर्छ भनेर जानेको छ । असार आयो बुक क्लोज गर्न सिकेको छ । साउन आयो वार्षिक योजना बनाउन सिकेको छ । तर नेपालीले भने चैत लागेपछि मकै छर्ने, असारमा धान रोप्ने बाहेक केही जानेनन् । यति धेरै विकासका मोडलबारे चर्चा गर्दा पनि उत्पादन मुलक क्षेत्रका बारेमा केहि भन्नु भएन, के नेपालमा उत्पादन मुलक उद्योगको सम्भावना छैन ? हाम्रो देशका उत्पादन मुलक उद्योग भनेको कृषिमा आधारित हुन्छ । जबसम्म कृषिको प्रवद्र्धन हुँदैन तबसम्म नेपालले औद्योगीक विकास गर्न सक्दैन् । मलेसियाबाट ल्याएर कन्टेनरबाट खन्याएर टिनमा हालेर बेच्ने बनस्पति घ्युको हालत हुन्छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग नै हाम्रो उत्पादन मुलक क्षेत्र हो । कृषिको व्यवसायीकरणले नै त्यसका सहायक उद्योगहरुको माग गर्छ । जब कृषि उत्पादनको वृद्धि हुन्छ, तत्काल सबै बजारमा खपत नहुने अवस्था आउँछ, तब भण्डारण, प्रशोधन, प्याकेजिङ, निर्यातको चरणमा जान सक्छौं । कृषिमा आधारित उद्योगहरु स्थापना हुन थाल्छ र औद्योगीकरण सुरु हुन्छ । त्यसले रोजगारी पनि सिर्जना गर्छ । उच्चदरको आर्थिक वृद्धिदर समेत प्राप्त हुन्छ । कृषिमा आधारित औद्योगीकरण नै हाम्रो लागि उत्तम हो । टाटा, डांगोटे, रिलायन्स लगायत बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा उद्योग चलाउने कुरा गर्छन् तर वातावरण छैन, उत्पादन मुलक ठूला उद्योग किन स्थापना हुन सकेनन् ? मल्टिनेशनल कम्पनीले ढुवानी खर्च घटाउन नेपालमा प्लान्ट राख्ने खोजेका हुन् भने त्यो बनस्पति घ्यु जस्तै हुनेछ । उतै समान बनाएर नेपालमा पेच कसेर बेच्ने हो भने त्यो प्लान्टको अर्थ छैन । त्यस्ता प्लान्टहरुले नेपालमा प्रविधि पनि हस्तान्तरण गर्दैन्, कर पनि बढाउँदैनन र रोजगार पनि वृद्धि हुँदैन् । त्यसकारण हामीले हाम्रो आफ्नो हितलाई हेरेर, फाईदालाई हेरेर उद्योग चलाउने हो । हामीले कृषिमा आधारित उद्योगलाई बढि प्राथमिकता दिने हो । कुनै सन्दर्भमा त्यस्ता उद्योग पनि चाहिन्छ । प्रविधिका क्षेत्रमा भने त्यस्तो सम्भावना रहन्छ । प्रविधिमा भने त्यस्तो सीमा रहँदैन तर विदेशबाट समान ल्याएर नेपालमा पेच कसेर नेपालमा बेच्ने उद्योगको कुनै काम छैन । हाम्रा कच्चा पदार्थमा आधारित उद्योगहरुको आवश्यकता छ । नामपाटी टाँसेर मेड इन नेपाल लेख्ने उद्योग हामीलाई चाहिँदैन् । नेपाल श्रम, नेपाली पुँजी, नेपाली कच्चा पदार्थको प्रयोग गरोस र सक्दा निर्यात गरेर विदेशी मुद्रा आर्जन समेत गरोस् । सरकारले पूर्वाधार विकास भन्दा पनि समाजिक सुरक्षाका क्षेत्रमा खर्च बढायो, बजेट कनिका छरिए झै छरियो, परिणाम आर्थिक वृद्धि सुस्त भएको भन्ने विचार पनि आउन थालेका छन् नि ? यो त नेपाली काँग्रेस, त्यसमा पनि डा. रामशरण महतको विचार हो । उहाँ न पूर्वाधारमा लगानी गर्न सक्नु हुन्छ न समाजिक सुरक्षामा नै ध्यान दिनुहुन्छ । पोखरा विमानस्थल, रानीजमरा कुलरिया सिंचाई, माथिल्लो तामाकोशी, माथिल्लो त्रिशुली थ्री ए, मध्यपहाडी लोकमार्ग, फास्ट ट्रयाक लगायत ठूला परियोजना मैले शुरु गरेको हुँ । म पछिका अर्थमन्त्रीहरुले पनि त्यसलाई निरन्तरता दिएका छन् । डा महत कुरा मात्र गर्ने काम केही पनि नगर्ने अर्थमन्त्री हुन् । सामाजिक सुरक्षा भत्ता दिन पनि पैसा छैन भन्नुहुन्छ । ठूला परियोजना निर्माण गर्न पनि नेपालीले सक्दैनन् भन्नुहुन्छ । उहाँले विदेशीलाई मात्र धनवान, बुद्धिवान, सर्वमान ठान्नुहुन्छ । उहाँलाई नेपालीले पनि केह ीगर्न सक्छन् भन्ने विश्वास नै छैन । उहाँ पुँजीवादको कुरा गर्नुहुन्छ तर पुँजी परिचालन गर्ने क्षमता नै उहाँसँग छैन । उहाँ नेपालको पैसाले केही गर्न पुग्दैन मात्र भन्नु हुन्छ तर यहाँ त पैसा खर्च नभएर बेहाल छ । कुरा मात्र गर्ने काम केही पनि नगर्ने डा महतको कुरै छाडिदिऊ । नेपालमा समाजिक सुरक्षाका लागि विनियोजन गरिएको पैसा बढी भएको छैन । आझै वृद्ध भत्तालाई ५०० बाट १५ सय बनाउन सकिन्छ । हामीकहाँ बेरोजगार भत्ता छैन । कृषकलाई पेन्सन कार्यक्रम ल्याउन सकिन्छ । लामो समय करमा सहभागी भएको, करमा उल्लेख्य योगदान गरेकाहरुलाई लक्षित सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन सकिन्छ । देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सकिएको छैन । स्कूलतह (१२ कक्षा)सम्मको शिक्षा निःशुल्क गर्न सकिएको छैन । जनतालाई आवासको ग्यारेन्टी गर्न सकिएको छैन । गरिबलाई माछा दिने होइन, माछा मार्न सिकाउनुपर्छ भनिन्छ । सामाजिक सुरक्षाले नागरिकमा सरकार निर्भरता बढाउँदैन ? माछा दिने होइन, माछा मार्न सिकाउनुपर्छ भन्नेमा म पूर्ण सहमत छु । । सुरक्षा दिएर मात्रै हुँदैन । तर अमेरिका र युरोपमा हेरेर नेपालको तुलना गर्ने हो भने नेपालमा सामाजिक सुरक्षातर्फ ज्यादै कम काम भएको छ । करको दर र दायरा कम छ । नेपालका नेता, कर्मचारीलाई विदेश घुमेर फुर्सद छैन । तर उनीहरु विदेशबाट केही पनि सिक्दैनन् । राम्रो अम्यासलाई नेपालमा प्रयोग गर्ने प्रयास गर्दैनन् । अनि देश कसरी बन्छ ? तपाईले भनेजस्तो सबै सामाजिक सुरक्षाका कार्यक्रम गर्न सक्ने सामथ्र्य नेपाल सरकारसँग छ ? क्षमताको विकास गर्ने हो । हामी एक दमै ढिला भईसक्यौ । वृद्धभत्ता पाँच सय त हामी अहिले नै दिईरहेका छौं । स्वास्थ्य बीमामा भने केहि जोखिम छ । दुनियाका कुनै पनि मुलुकमा सतप्रतिशत स्वास्थ्य बीमा हुँदैन । त्यसका लागि केहि रकम उठाएर रोगहरुको रोष्टर बनाएर निश्चित सहयोग गर्न सकिन्छ । कति प्रतिशत व्यक्तिले व्यहोर्ने र कति राज्यले व्यहोर्ने ? कतिवटा रोग बीमाले कभर गर्ने भन्ने निक्र्याैल गर्न सकिन्छ । आवासको लागि घर दिन नसकिएला, फ्ल्याट दिन सकिन्छ । कृषकको पेन्सनका लागि केही हदसम्म कृषि क्षेत्रबाट कर परिचालन गर्न सकिन्छ । संसारभरमा नै सरकारले किसानको हितमा केही नै केही लगानी गरेका छन् । नेपालले पनि त्यो गर्नुपर्छ । राजश्व अहिलेको भन्दा गुणात्मक रुपमा वृद्धि गर्न सकिन्छ । स्वीडेन र जर्मनीहरुमा जीडीपीको ४० प्रतिशत भन्दा बढी राजश्व उठ्छ । नेपालमा जीडीपीको १६ प्रतिशत मात्र राजश्व परिचालन भएको छ । फ्रान्समा ७० प्रतिशतसम्म आयकर लाग्छ । नेपालमा बढीमा ३२/३३ प्रतिशत मात्र आयकर छ । उठेको राजश्व त सरकारले खर्च गर्न सकेको छैन, राजश्वको दुरुपयोग त्यतिकै छ ? राजश्व उठेर खर्च नभएको होईन । त्यो त राजश्व माराहरुले राजश्व छल्न गरेको प्रपञ्च मात्रै हो । कर छल्नलाई यो सब नाटक गरिएको हो । राजश्व नतिर्ने, खुस खुवाएर सरकारी लाभ लिनेको कूतर्क हो । दैनिक करोडौं करोबार गर्ने, लाखौ कमाउने तर एक रुपैयाँ पनि कर नतिर्ने घरजग्गा दलालहरुको हौवा हो । राजश्व वृद्धि गर्नेबारे तपाईसँग नयाँ योजना छ ? मैले फेरि बजेट बनाउने अवसर पाउने हो भने म नोटको कारोबारलाई पूरै निरुत्साहित गर्ने नीति लिनेछु । एक सय भन्दा बढीको नोट छाप्न बन्द गरिदिन्छु र सयभन्दा बढीको नोट कारोबारमा प्रतिवन्द लगाईदिन्छु । यति काम गरेपछि बैकिङ कारोबार बढ्छ । इ–पेपेन्ट वा चेक कारोबार सिस्टमलाई प्रोत्साहित गर्नुपर्छ । यसले बैकिङ कारोबार बढाउँछ र पारदर्शिता हुन्छ । भ्रष्टाचार र राजश्व छली स्वत कम हुन्छ । नोटकै कारण भ्रष्टाचार बढेको हो । पैसाको कारोबार बन्द भएपछि घुस खुवाउने अवस्था नै मिल्दैन । एक सयका मात्रै नोट छापेपछि एक करोड घुसका लागि एक ट्रक नोट बोक्नु पर्छ अनि कसरी खुवाउने घुस ? अमेरिकाले पनि एक सय भन्दा साना नोट मात्रै छाप्छ । त्यसको कारण यहि नै हो । अख्तियार वा अदालतको सक्रियाताले मात्र भ्रष्टाचार घट्दैन् । संस्थानहरुको निजीकरणको विषयमा अर्थमन्त्री र उद्योगमन्त्री बीच विपरित मत छ ? यस सवालमा तपाईको विचार के हो ? निजीकरणका बारेमा वृहत छलफल र नीतिको आवश्यकता छ । कस्तो सेवा राज्यले राख्नु पर्छ र कस्तो सेवा राख्नु पर्दैन भन्ने वृहत छलफल आवश्यक छ । नेशनल टे«डिङको कुनै काम छैन तर औषधि लिमिटेड चाहिन्छ । युरोपमा सिटी बस सरकारले चलाउँछ । यहाँ पनि त्यस्तै गर्न सकिन्छ । दुई अर्बको लगानीमा एउटा संस्थान चलाउन छाडेर एउटा राजमार्ग बनाउनु पर्छ । सरकारले चलाएको उद्योग राष्ट्रिय हुने अनि नेपाली उद्योगीले चलायो भने चाँही राष्ट्रिय नहुने भन्ने सोच एक दमै गलत छ । प्रस्तुतिः रामकृष्ण पौडेल/नारायण पौडेल

संस्थापक लगानीकर्तालाई अछुतको व्यवहार भैराखेकोछ-अम्बिकाप्रसाद पौडेल

        अम्बिकाप्रसाद पौडेल अध्यक्ष एनबी इन्सुरेन्स कम्पनी लिमिटेड[divider] तपाईको नेतृत्वमा एनबी इन्स्योरेन्समा सञ्चालक समिति बनेको एक महिना बित्न लाग्यो, सञ्चालन किन नभएको ? कम्पनीको सञ्चालक समिति गठन भएको छ । आर्थिक क्रियाकलाप भने केही पनि अगाडि बढाएका छैनौं । कम्पनीको विगत तीन आर्थिक वर्षदेखि लेखापरीक्षण भएको छैन । चार वर्षदेखि वार्षिक साधारण सभा भएको छैन । हामी पहिले अडिट गरौं, नयाँ डीडीए गरौं, कम्तिमा माथिल्लो तहको कर्मचारी व्यवस्था पनि गरौं र त्यसपछि मात्र व्यवसायिक काम शुरु गरौं भन्ने सोचेका छौं । अहिले त हामीले बाँकी रहेका दाबी भुक्तानी गरिरहेका छौं । पुराना मुख्य समस्याहरु टुङ्गाएर नयाँ व्यवस्थापन टिमले यसलाई अगाडि बढाउनेछ । कम्पनी कहिलेदेखि सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? नयाँ वर्ष २०७२ सालमा हामी बीमा क्षेत्र क्षेत्रलाई नयाँ उपहार दिनेछौं । एउटा कोमामा रहेको कम्पनीले पुनर्जन्म लियो भन्ने सन्देश लगानीकर्ता तथा यस क्षेत्रलाई दिनेछौं । ढिलोमा बैशाख एक गते सञ्चालनमा आउनेछौं । हामी नयाँ वर्ष २०७२ सालको शुरुवातदेखि नै हामी कम्पनी ‘स्मुथली’ रन गर्छौ । आजको मितिमा एनबी इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ? कम्पनीमा सर्वसाधारण र संस्थापक गरेर १४ करोड रुपैयाँको चुक्तापूँजी छ । कम्पनीको डीडीएको प्रारम्भिक तथ्यांक हेर्ने हो भने १५ करोड रुपैयाँ दायित्व रहेको देखिन्छ । अहिले सरसर्ती हेर्दा प्रतिसेयर नेटवर्थ नकारात्मक नै छ । बीमा समितिले गरेको ड्यु डेलिजेन्स रिपोर्ट प्रतिसेयर प्रति सेयर पाँच रुपैयाँ नेगेटिभ नेटवर्थ भएको कम्पनीमा प्रतिसेयर ८५ रुपैया तिरेर किन्नुको कारण के हो ? कम्पनीको सम्पत्तिभन्दा दायित्व बढि भइसकेको अवस्थामा संस्थालाई सञ्चालन गर्न दिइरहेमा थप समस्या आउने देखेर बीमा समितिले कम्पनीको कारोबार पुरै बन्द गरेको हो । बीमा समितिको कम्पनीले गरेको ड्यु डेलिजेन्स अडिट रिर्पोट अनुसार दायित्व बढि देखिए पनि शंस्कास्पद देखिएका दायित्व समेत गणाना भएका छन् भने लिनुपर्ने शंस्कास्पद भुक्तानीहरु कुनै पनि गणना भएको छैन । लेखा सिद्धान्त अनुसार नै हो यो । तरपनि हामीले पनि त्यहा केही पैसा उठाउन सकौउला, कम्पनीमा रहँदा कसैले जघन्यै अपराध गरेका रहेछन भनेपनि त क्षतिपूर्ती लिन सक्ने अवस्था आउला नि । त्यही रकम पनि उठ्ला भन्ने हाम्रो अपेक्षा हो । हाम्रो बुझाइ र हेराईमा एनबी इन्स्योरेन्स भनेको एउटा स्थापित भइसकेको कम्पनी हो । कम्पनीको आफ्नो कर्मचारी, शाखा, राम्रो नराम्रो जे भएपनि गुडविल पनि छ । नयाँ कम्पनी खोल्नुभन्दा छिटोछरितो तरिकाले यस कम्पनीलाई एउटा ट्रयाकमा ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । अर्काे महत्वपुर्ण कुरा, बीमा समितिले विगत लामो समयदेखि नयाँ बीमा कम्पनीको लागि अनुमति दिइरहेको छैन । यस्तोमा कतै न कतैबाट बीमा क्षेत्रमा प्रवेश गर्नुपर्छ भन्ने उदेश्यले पनि यो उपयुक्त विकल्प लागेर गरेका हौं । कम्पनीको गुडविलको पनि कुरा गर्नुभयो, के तपाईहरु एनबी इन्स्योरेन्स कै नाम बाट कम्पनी चलाउँदै हुनुहुन्छ वा नाम परिवर्तन गर्ने सोच छ ? सबै थोक नामले नै मात्र गर्छ भन्नेमा हामी विश्वास गर्दैनौं । एनबी इन्स्यारेन्सको नाम उही रहेपनि यो कम्पनी अर्काे समूहले सञ्चालन गरेको छ भन्ने सन्देश बजारमा गइरहेको पनि छ, जान्छ पनि । त्यस्तै, बीमा क्षेत्रमा कारोबार गर्ने ठुला–ठुला ग्राहक, हाउसहरुले हाम्रो उपस्तिथि थहा पाइसकेका पनि छन् । सासाना बिजनेशले एनबी वा गैरएनबी भनेर त्यती धेरै मान्यता राख्छ भन्ने मलाई लाग्दैन । तथापी नाम कै कुरामा पनि प्रक्रियागत कुरा हुन्छ । कसैले त्यति कै चहादैमा हुदैन । त्यसैले आम लगानीकर्ता सबैबाट नाम परिवर्तन गरौं भन्ने प्रस्ताव आएमा जाने छौं । तर तत्कालै नाम परिवर्तन गर्नुपर्छ भन्ने हामीले सोचेका छैनौं । कम्पनीको प्राथमिकता के के हुन् ? पहिलो प्राथमिकता नेपालको ऐन नियमको परिपालन गर्नु हो । हामी त्यसैले पूँजी संरचनालाई प्राथमिकतामा राखिरहेका छौं । कम्पनीको नेटवर्थ नेगेटिभ भएपनि कम्पनीमा ९९ प्रतिशत संस्थापकले कल इन एड्भान्समा रकम जम्मा गरिसकेका छन् । नेपालको पुँजीबजार यस्तो उदाहरण यसअघि स्थापित भए जस्तो हामीलाई लाग्दैन । अहिले हामीसंग १० करोड रुपैयाँ रहेको छ । हाम्रो अडिट प्रक्रिया अगाडि बढिसकेको छ, हामीले भुक्तानी तथा राफसाफ अगाडि बढाइ रहेका छौं । हामी जुन दिन व्यवसाय गर्ने हिसाबले सार्वजनिक हुन्छौं, त्यो दिन भएका कामहरु पनि देखाउन सक्ने अवस्थामा आउछौं । पुरानो समस्या सल्टाउनु र नयाँ व्यस्थापन टिम बनाएर राम्ररी काम गर्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो । कम्पनीको सेयर दोस्रो बजारमा कहिलेदेखि कारोबारमा आउला, कतिमा कारोबार होला ? हामीले गर्न लागेको डीडीएको प्रतिवेदन आइसकेपछि र सञ्चालन शुरु गरेसंगै नेप्सेमा कारोबारको लागि ओवेदन गर्ने छौं । सम्भवतः जेठसम्म सेयर कारोबार शुरु गर्न अवोदन दिनेछौं । हामी संस्थापकहरुले १० बराबर आठ अनुपातमा हकप्रद सेयर बराबर रकम पनि राखिसकेका छौं । एनबी समूहको पनि हकप्रद हामीले खरिद गरेका छौं । सर्वसाधारणमा पनि यही अनुपातमा हकप्रद सेयर जारी गर्छौ । हामीले यसको पुनर्बीमाको हिस्सामा पनि लगानी बढाउनु छ । नेप्सेमा सूचिकृत भएपछि कतिमा कारोबार हुन्छ भनेर मैले बोलेभने नेप्सेले मलाई स्पष्टीकरण लिने छ । त्यसैले यो विषयमा बोल्न चाहान्न । माथिल्लो व्यवस्थापनका कर्मचारी नियुक्ति प्रक्रिया कहा पुगेको छ ? हामीहरुलाई बिभिन्न आवेदन प्राप्त भएको छ । हामी सम्भवतः यही फागुन भित्रमा नियुक्त गरिसक्छौं । यस कम्पनीका कतिसमयमा प्रतिफल पाउँने प्रक्षेपण गर्नुभएको छ ? हामीहरुले हेर्दा दुई वर्षभित्र (आर्थिक बर्ष २०७२/७३) भित्रमा नेगेटिभ नेटवर्थलाई कम्तिमा पोजिटिभ बनाउछौं भन्ने लक्ष्य लिएका छौं । तपाई हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक पनि हुनुहुन्छ । यो कम्पनीले भने कुन कुन क्षेत्रमा लगानी गरेको छ ? हाम्रो करिब ९० करोड रुपैयाँ बराबरको कुल लगानी छ । त्यसमध्ये १५ प्रतिशत रियलस्टेट क्षेत्रमा छ । एनबी इन्स्योरेन्स, दोर्दी लगायत हाइड्रोपावर जस्ता दीर्घकालिन क्षेत्रमा पनि केही लगानी छ । बाँकी भने सेयरमा लगानी गरेका छौं । बिशेषगरी बीमा, बैंक, विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानी गरेका छौं । बीमा कम्पनीहरुमा नेपाल लाइफ, नेशनल लाइफमा छ । नेपाल लाइफमा हाम्रो ५०/६० हजार कित्ता बराबर रहेको छ । अन्य लाइफ र नन लाइफमा पनि छ । बैंकहरुमा भने प्राय सबैमा छ । रकमको हिसाबले हेर्दा नविल, एभेरेष्ट लगायत ठूला बैंकहरुमा छ तर सेयर संख्याको आधारमा सानामा धेरै देखिन्छ । लघुवित्त कम्पनीहरुमा लगानी गर्नुभएको छैन ? लघुवित्तमा लगानी छैन । बीमा कम्पनीमा हामीले अन्य क्षेत्रभन्दा धेरै कमाइ गर्यौं । हामीले बीमा कम्पनी छ सात सय मै किनेका थियौं, त्यसो त संस्था नै लघुवित्त भनेको जस्तो नि रह्यो । त्यस्तै बैंकहरुको प्रतिफलसंग तुलना गर्दा लघुवित्तमा लगानी उचित देखिएन । त्यसैले त्यस क्षेत्रमा लगानी गरेनौं । लघुवित्त कम्पनीहरुको मूल्य त अहिले निकै बढेको छ , लगानी गनुपर्ने रहेछ जस्तो लागेको छैन ? म बजारमा कुन वेभ आएको छ भन्नेमा त्यति विश्वास गर्दिन । हामी प्राविधिक, आधारभुत र मनोवैज्ञानिक विश्लेषण गर्छाै । यो क्षेत्रमा मनोवैज्ञानिक रुपमा वृद्धि भएको हो । बीमा पनि कहिले काँही यस्तै देखिन्छ । खासमा यो माग र आपूर्तिको कारणले मूल्य बढेको हो । ‘माग र आपूर्ति’ ले आएको कुरामा हामी त्यति विश्वास गर्दैनौं । जस्तो कुनै जगमा आधा पानी राखेर छल्काइदियो भने पनि पानीको सतह माथी आएको देखिन्छ । तर जब पानी छछल्किन छोड्छ पुरानै अवस्थामा आउँछ । त्यसैले माग र आपुर्तिमा खेलेर बढाइएको सेयरमा पछि लाग्नु हुँदैन । तर बोनस सेयरकै आशामा लगानीकर्ताहरुले बीमा र लघुवित्तमा लगानी गरिरहेका पनि देखिन्छन त ? बीमा क्षेत्रमा हेर्ने हो भने दैनिक रुपमा वृद्धि छ । बीमा कम्पनीहरु खोलिने क्रम रोकिएको छ । बजार बढिरहदा बीमा कम्पनी संख्या बढेको छैन । त्यसैले बीमा कम्पनीको वृद्धि २०/२५ प्रतिशतसम्म छ । त्यसको बजारको वृद्धि अझ बढी हुन्छ । लघुवित्त तर्फ समस्या चुनौति के छन् भने लगालग नयाँ लघुवित्त कम्पनीहरु आइरहेका छन । कम्पनी बढेको छ, तर व्यवसाय संकुचित हुदैछ । वाणिज्य बैंकहरु आफैले एसएमई भनेर ५० हजार रुपैयाँ सम्मको कर्जा दिन्छन् जिल्ला जिल्लामा । विकास बैंक, वित्त कम्पनीले समेत साना तथा मझौला कर्जा बढाइरहेका छन । यस क्षेत्रमा कर्जा विस्तारमा डुब्लिकेशनको धेरै कुराहरु आइरहेको छ । कम्पनीहरुको उदेश्यभन्दा बाहिर रहेको लुप होलबाट कमाइरहेका छन । त्यसैले भोलीको सम्भावना कम होला भनेर लगानी नगरेका हो । अल्पकालमा लगानी गर्ने उदेश्यले सामूहिक लगानी कोष जस्ताले पनि यी कम्पनीका सेयर खरिद गरिरहेका देखिन्छन् । तरपनि अल्पकालमा लगानी गर्ने सेयर त तत्काल बिक्री गर्न सकिने ‘लिक्विड’ हुनुपर्दछ । यी क्षेत्रको सेयर ‘हाइली लिक्विड’ हुनुपर्छ । तर यो क्षेत्रको सेयर सिजनेवल देखिन्छ । तपाईले चाहेको समयमा बिक्री गरेर निस्कन हुन समस्या छ । मलाई अल्पकालमा ठूलो परिमाणमा यस्ता सेयरमा लगानी गर्न हुन्छ भन्ने नलागेर हो । केही लगानी भने गरेका छौं । संस्थापक सेयर र सर्वसाधारण सेयरमा विभिन्न विभेद छ त्यसलाई कसरी हेर्नुभएको छ ? यो विभेद हुनुहुदैनथ्यो भन्ने मेरो बुझाइ हो । संस्थापक सेयरमा एउटा निश्चित समयपछि खुला गरिनुपर्छ । संस्थापक संस्था जन्माउने आमा हो । बच्चा नहुर्किउन्जेलसम्म जसरी आमाबाबुको दायित्व हुन्छ, कम्पनीको पनि त्यस्तै हो । तर बच्चा परिपक्व भएपछि छोरालाई च्यापेर राख्नु पर्छ भन्ने जस्तै विभेद संस्थापक सेयरमा छ । संस्थापकलाई निश्चित अवधिपछि सेयर किनबेचमा खुकुलो बनाइदिनु पर्दथ्यो । अर्काे कुरा तपाईले लगानी गर्ने पनि त्यही सय रुपैयाँ हो भने संस्थापक लगानीकर्ताले गर्ने पनि उही । प्रवद्र्धक र साधारण सेयरबारे अन्तराष्ट्रिय अभ्यास कस्तो छ ? प्राय सबैजसो देशमा निश्चित समयअवधि पछि संस्थापक सेयर माथिको बन्धन फुक्का गरिन्छ । यस्तो अवधिपछि सर्वसाधारण र संस्थापक सेयरबीचको अन्तर नै रहदैन । मैले नेपालको लागि सुझाउन पर्यो भने यस्तो वर्गिकरणको अवधि पाँच वर्षको उचित मान्छु । यदी यसभन्दा लामो समय राख्ने हो भने पनि चरणबद्ध रुपमा निश्चित प्रतिशत संस्थापक सेयरलाई फुक्का गर्दै जाने छुट दिनुपर्छ । हुनसक्छ, दायित्व लगायतका विषयमा त्यही अनुसार चरणबद्ध रुपमा परिवर्तन गर्दै लैजानु पर्दछ । तर कारोबार मूल्य र रकममा नै विभेद गरिनु हुदैन । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रमोटर सेयरमा लगानी गरेको छ कि छैन ? हामीले संस्थापक सेयरमा भन्दा सर्वसाधारण सेयरमा नै बढी लगानी गरिरहेको हुन्छ । मैले चाहेर पनि संस्थापक सेयर किन्न सक्दिन । बाफियाले पनि तीन बर्षसम्म नाफामा गएको कम्पनीले मात्र बैंक तथा वित्तीय संस्थाको सेयर किन्न सक्ने व्यवस्था गरेको छ । मेरो इन्भेष्टमेन्ट कम्पनी यो बीचको एक बर्षमा नोक्सानमा गयो भने पनि सेयर किन्न पाउँदिन । यदी कुनै कम्पनीले १० हजार मात्र रुपैयाँ कमायो भने पनि उसले सेयर खरिद गर्न सक्ने तर मेरो कम्पनीले नोक्सानमा गएपछिको अर्काे वर्ष नै एक करोड कमाए भनेपनि किन्न नपाउने ? यस्तो नियम व्यवहारिक भएन । संस्थापक सेयरधनीका मुुख्य पीडा के के हुन् ? पहिलो समस्या सेयर खरिद बिक्री नै नहुनु हो । संस्थापक सेयरधनी आफैले खरिदकर्ता खोज्नु पर्ने हुन्छ । बजारमा कुनै पनि ब्रोकरले खरिद कर्ता खोजि दिदैनन् । दुनियाँका कुनै पनि देशमा कर्जा तथा स्वआर्जनले संस्थापक सेयर खरिद गर्न पाइन्छ, यहाँ कर्जा लिएर संस्थापक सेयर खरिद गर्न नै पाइदैन । संस्थापक सेयरको सूचीकरण मै विभेद छ । व्यवस्थापनमा बस्ने संस्थापकलाई त ठिकै होला, अन्यलाई अछुत नै मानेको छ । अन्यलाई कम्पनीहरुले बार्षिक साधारण सभामा पनि बोलाउँछ, बोलाउँदैन त्यतिकै पिडा, सेयर बेच्न गयो मूल्य आधा भन्छ । खरिद गर्ने मान्छे आफैले खोज्नुपर्छ । लाभांशमा एक रुपता छ र चित्त बझाउन सकिरहेका छन् ।

क्यान महासंघलाई जोगाउन मेरो नेतृत्व आवश्यक छ

२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको वर्तमान कार्यसमितीम अध्यक्ष छन् । क्यानलाई महासंघ बनाउने अभियानको मुल नेतृत्व गरेका ढकाल क्यान महासंघको प्रथम साधारण सभाबाट अध्यक्ष बन्ने दौडमा छन् । क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल महासंघको प्रथम अध्यक्ष बन्ने दौडमा सामेल भैरहेका बेला बिकासन्युज डटकमले गरेको कुराकानी ।     तपाइँको उम्मेदवारी केका लागि ? म क्यान नेपालको वहालवाला अध्यक्ष हुँ । दशकौं देखि क्यानलाई महासंघ बनाउने अभियान जारी थियो । मेरो अथक प्रयास र नेतृत्वमा क्यान महासंघका रुपमा दर्ता भएको छ । अरुले बर्षाै प्रयास गर्दा पनि नसकेको काम मेरो प्रयासमा सम्पन्न भएको छ । क्यानको इतिहासमा र नेपालको आइसीटीको क्षेत्रमा यो नै अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि हो । क्यानलाई महासंघ बनाउने काम लाग्दा लाग्दै अन्य महत्वपुर्ण कामहरु गर्न सकिएको थिएन् । अब महासंघको नेतृत्वमा बसेर ती कामहरु गर्ने सोच बनाएको छु । क्यानलाई मेरो खाँजो र मेरो योगदानको कदर पनि हुनु पर्छ । मैले अझै क्यानलाई धेरै योगदान दिन सक्छु त्यसैले पनि उम्मेदवार बनेको हुँ । मसँग क्यानलाई अझै गतिशितल र शसक्त बनाउने योजना छ । तपाईका एजेण्डाहरु के के हुन् ? आईसीटी क्षेत्रलाई उद्योगका रुपमा बिकास गराउने, क्यानको छविलाई सुधार्ने, ऐन कानुनमा सापेक्ष परिवर्तनका लागि दबाव सञ्चालन गर्ने, क्यानका संगठनलाई चुस्त दुरुस्त बनाउने, नेपाललाई सुचना प्रबिधीको हाईवेमा अग्रसर गराउने अनि नेपाली आईसीटी विज्ञहरुलाई दक्ष बनाउने मेरा एजेण्डाहरु हुन् । जित्ने आधारहरु के के हुन् ? मैले क्यानमा गरेको मेहनत र दिएको उपलब्धि नै मेरो जित्ने आधार हुन् । क्यानलाई महासंघ बनाएर ऐतिहासिक सफलता दिलाएको छु । यो मेरो र मेरो कार्यसमितीका साथीहरुको साथ, सहयोग र समर्थनको फल हो । यस बाहेक जिल्लाहरुबाट पनि राम्रो साथ पाईरहेको छु । काठमाडौंमा मेरो बिशेष पकड छ, क्यानको वर्तमान कार्यसमितीमा मेरो पक्षमा स्पष्ट बहुमत छ । क्यानलाई माया गर्नेहरुले, क्यानको हित चिताउनेहरुले बिनोद ढकाललाई अध्यक्ष बनाउँछन् । क्यान महासंघका लागि आगामी योजना के के छन् ? हामी क्यानका लागि मरिमेटेर लागि पर्दै आएका छौं । जीवनको उर्जावान र महत्वपूर्ण समय क्यानकै लागि सुम्पिएका छौं । क्यानको उन्नती र प्रगतिमा नै सिंगो मुलुक र मेरो व्यक्तिगत जिवनले पनि सार्थकता पाउने छ । क्यानलाई शसक्त बनाउने, नेपालको आईसीटी क्षेत्रको बिकास, विस्तार र प्रवद्र्धन गर्ने, जनताका पहुँचमा आईसीटी पु¥याउने योजना छन् । ति सबै योजनालाई कार्यान्वयन गर्नका लागि अध्यक्षमा विजयी हुनु आवश्यक छ । क्यानको सुनौलो भविष्यका लागि मेरो समुहलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु । तपाईँले फर्जि मत मार्फत क्यान कब्जा गर्न खोजेको आरोप छ नी ? त्यो त आरोपका लागि आरोप मात्रै हो । सदस्यको टुङगो लगाउने समितीमा उहाँहरुको पनि संलग्नता छ । उहाँहरुको सहमति बिना कुनै पनि काम अघि बढाएको छैन् । सदस्यताको टुङगो पनि दुबै समुहले मिलेर गरेका हौं अनि कसरी फर्जिको कुरा आउँछ । त्यो त बिरोध गर्ने बहाना मात्रै हो ।