डेपुटी गभर्नर पण्डितको बैंक, बीमा र हाइड्रोमा सेयर लगानी, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले विभिन्न क्षेत्रका कम्पनीमा सेयर लगानी गरेको पाइएको छ । उनको सम्पत्ति विवरण अनुसार बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता सेयर रहेको छ ।  त्यस्तै, जलविद्युत क्षेत्रमा ३ हजार ६०६ कित्ता र बीमा कम्पनीहरूमा ३६ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ। त्यस्तै, उनको परिवारका सदस्यहरूको नाममा पनि सेयर लगानी रहेको पाइएको  छ। श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा ५११ कित्ता र बीमा कम्पनीमा १२ कित्ता सेयर रहेको छ । यस्तै, छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा २२० कित्ता तथा बीमा क्षेत्रमा १२ कित्ता सेयर रहेको विवरणमा उल्लेख गरिएको छ ।

डेपुटी गभर्नर पण्डितको सम्पत्ति : सात ठाउँमा घरजग्गा, ३ करोड बचत, २० तोला सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले नेपाल राष्ट्र बैंकसमक्ष सम्पत्ति विवरण बुझाएका छन् । उनले राष्ट्र बैंकसमक्ष करिब ३ करोड रुपैयाँ बैंकमा मौज्दात, सात ठाउँमा घरजग्गा र २० तोला सुन र २५० तोला चाँदी रहेको खुलाएका छन् ।  डेपुटी गभर्नर पण्डितले पत्नी कामना शर्मा पण्डितको नाममा टोखामा २ करोड २० लाख रुपैयाँबराबरको घर रहेको उल्लेख गरेका छन् भने आमा गौरी पण्डितको नाममा सामाखुसीमा साढे दुई तलाको घर रहेको खुलाएका छन् ।  यस्तै, आमा गौरीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा, बुबा केशरीराज पण्डितको नाममा तनहुँमा, आफ्नै नाममा धनगढीमा १० लाख रुपैयाँबराबरको जग्गा र भाइबुहारी अनिता गौतमको नाममा रुपन्देहीमा ४० लाख रुपैयाँबराबरको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।  पत्नी कामना शर्मा पण्डितको नाममा काठमाडौं तारकेश्वरमा ६९ लाख रुपैयाँबराबरको जग्गा रहेको पनि खुलाएका छन् । यस्तै, उनले आफूसँग २० तोला सुन र २५० तोला चाँदी रहेको उल्लेख गरेका छन् भने २ लाख रुपैयाँबराबरको हिरा रहेको उल्लेख गरेका छन् । त्यसलाई निजी र पत्नीको आर्जन भनेका छन् । उनले करिब ३ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा बचत रहेको बताएका छन् ।  डेपुटी गभर्नर पण्डितले नेपाल राष्ट्र बैंकमा १ करोड ९ लाख २८ हजार, वाणिज्य बैंकमा १ करोड ११ लाख ८ हजार रुपैयाँ, कर्मचारी कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने पत्नी कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थामा ५७ लाख ३६ हजार र ३३ हजार ५७९ डलर रुपैयाँ रहेको उल्लेख गरेका छन् । यस्तै, छोरा अभ्युदय पण्डितको नाममा ५ लाख ७६ हजार र छोरी आर्यिका पण्डितको नाममा ४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थामा २ हजार ९४८ कित्ता, हाइड्रोमा ३ हजार ६०६ कित्ता, बीमा कम्पनीमा ३६ कित्ता सेयर रहेको उल्लेख गरेका छन् भने पत्नी कामनाको नाममा बैंक वित्तीय संस्थामा ५११ कित्ता र छोरा अभ्युदयको नाममा बैंकमा २२० र बीमा कम्पनीमा १२ कित्ता गरेर कुल ७ हजार ३४५ कित्ता सेयर रहेको खुलाएका छन् ।  यस्तै, उनले राष्ट्र बैंकबाट २ करोड ३० लाख रुपैयाँ ऋण लिएकोमा १ करोड २१ लाख ५९ हजार रुपैयाँ तिरिसकेको बताएका छन् भने सिटिजन्स बैंकबाट १ करोड ३ लाख रुपैयाँ ऋण लिएकोमा १ करोड २८ लाख रुपैयाँ तिरिसकेको बताएका छन् ।  यस्तै, उनले आफूसँग २४ लाख रुपैयाँबराबरको ईभी गाडी र १ लाख १५ हजार रुपैयाँको मोटरसाइकल रहेको उल्लेख गरेका छन् । गाडी भने पत्नीको नाममा रहेको बताएका छन् । पत्नी कामनाको नाममा ८५ हजार र १ लाख ६५ हजार रुपैयाँबराबरको दुई मोटरसाइकल पनि रहेको उनले उल्लेख गरेका छन् ।   

नबिल बैंक १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।  बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । 'सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो', उनले बताए ।  बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । तालिममा ग्रामीण भेगका किसानहरुको रुचि पहिचान गरी सोहीअनुरुप उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सीप उपलब्ध गराइनेछ ।  सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सीप प्राप्त गर्नेछन् ।  कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।