काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । दुवै लाभांशमा करसमेत समावेश छ ।
साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले बढेको बैंकले जनाएको छ ।
असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ ।