राष्ट्र बैंकद्वारा युवराज खतिवडा सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा सम्मानित भएका छन् । सोमबार राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् । खतिवडा नेपाल राष्ट्र बैंकको १५औं गभर्नर हुन् । उनको कार्यकाल सन् २०१० देखि २०१५ सम्म रह्यो । उनी पूर्वअर्थमन्त्री समेत हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् । राष्ट्र बैंकको प्रत्येक वार्षिकोत्सव कार्यक्रममा पूर्व गभर्नरलाई सम्मानित गर्ने अभ्यास छ ।
राष्ट्र बैंकको वार्षिकोत्सवमा कर्मचारीको विरोध र धर्ना
काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवका अवसरमा बैंकभित्र औपचारिक उत्सव चलिरहँदा बाहिर भने कर्मचारीहरूले चर्को विरोध प्रदर्शन र धर्ना दिएका छन्। नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा उत्रिएका कर्मचारीहरूले बैंकको उच्च व्यवस्थापनले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै वार्षिकोत्सव कार्यक्रमलाई पूर्ण रूपमा बहिष्कार गरेका हुन् । विशेष गरी आर्थिक वर्ष २०८२/८३ को कार्य सम्पादनमा आधारित बढुवा प्रक्रियामा व्यवस्थापनले अनावश्यक ढिलासुस्ती गरेको र पारदर्शी ढंगले काम नगरेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् । धर्नामा सहभागी कर्मचारीहरूले ‘बढुवा होस् जालझेल नहोस्’ ‘हाम्रो श्रमको सम्मान गर, बढुवामा अपमान नगर’ ‘भित्री सेटिङ बन्द गर र पारदर्शी बढुवा लागू गर’ जस्ता चर्का नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गर्दै बैंकको मूल ढोकामा धर्ना दिएका थिए । आफ्नो वृत्तिविकास र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने माग राख्दै आन्दोलित भएका कर्मचारीहरूले व्यवस्थापनले जालझेलपूर्ण तरिकाले बढुवा प्रक्रिया रोकेको आरोप लगाएका छन् ।
हरियाली विस्तार र वित्तीय सचेतनामा महालक्ष्मी विकास बैंकको सक्रियता
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन तथा मानव सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका–१ काँडामा दुई हजार वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार हरियाली क्षेत्र विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोतको उपयोग तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ । सो कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ । ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले बाँकेको नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । युवामाझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न बैंकले सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग गरेको छ । यसैबीच, २०८२ चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२६ का अवसरमा बैंकले देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गलाई समेटेर वित्तीय साक्षरता, र्याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको छ ।