४ प्रतिशत बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, लाभांश क्षमता ९.९० प्रतिशत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४.०६ प्रतिशत बढेर ९ करोड ६२ लाख १८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६७ प्रतिशत बढेर २२ करोड १५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १३ करोड २६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ करोड ८२ लाख रुपैयाँ, कसल सञ्चालन आम्दानी २५ करोड ५७ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा १३ करोड ७४ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ३ लाख ३० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, २ करोड ४४ लाख २९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १३ करोड २० लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।  चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ९.९० प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ र लाभांश क्षमता १०.६५ प्रतिशत थियो । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  चैतसम्म बैंकले ८ अर्ब ५८ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड ९० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको निक्षेप ३१.८८ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ र कर्जा ३२.२६ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बढाएको हो ।   बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३९.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९ गुणा छ ।  समीक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्ष ०.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैतमा ०.४८ प्रतिशत झारेको छ । चैतसम्म बैंकको आधार दर ६.०५ प्रतिशत छ । 

कृषि विकास बैंकमार्फत सम्सारा रेमिटको सेवा देशभर विस्तार हुने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको उपस्थिति रहेको थियो । सम्झौताअनुसार विदेशबाट पठाइने रेमिट्यान्स रकम अब कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ । यसबाट रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकले छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । रियल टाइम एपीआई प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जालसँगको सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

क्यूआर स्क्यानबाटै लिलाम सम्पत्तिको विवरण हेर्न मिल्ने, एनआईसी एशियाको सुविधा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्री गरिने सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण सहज रूपमा प्राप्त गर्न सकिने जनाएको छ । ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार ग्राहकहरूले खरिद गर्न इच्छुक सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही विवरणमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था मिलाइएको छ । बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेका लिलाम बिक्रीयोग्य सम्पत्ति तथा लिलामसम्बन्धी अन्य सूचना प्रकाशित गर्दै जाने जनाएको छ । यसबाट खरिदकर्ताले बिक्रीमा रहेका सम्पत्तिको विस्तृत विवरण सहज रूपमा प्राप्त गरी लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले पोर्टलले लिलाम प्रक्रिया थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।