सिटिजन्स बैंकको १९ वर्ष : सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैशाख ७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा १९औँ वार्षिकोत्सव मनाएको छ । १९ वर्षको अवधिमा बैंकले २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातै प्रदेशमा आफ्नै भवनमार्फत प्रदेश कार्यालय सञ्चालन गरिरहेको बैंकले देशभर २०० शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बैशाख ७ गते बिहान सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममार्फत जनमानसमा वित्तीय साक्षरताको अभिमुखीकरण हुने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले “रक्तदान नै जीवनदान” भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातै प्रदेशका २० शाखाबाट ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसै अवसरमा कोशी प्रदेशको दिक्तेल शाखा, बागमती प्रदेशका तेमाल र लाम्बगर शाखा, लुम्बिनी प्रदेशका बेलाटारी र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेशका धारापानी र बेनी शाखा, कर्णाली प्रदेशको जुफाल शाखा तथा सुदूरपश्चिम प्रदेशको अमरगढी शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमार्फत करिब ५०० सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधि पनि निःशुल्क प्राप्त गरेका छन् । 

महालक्ष्मी विकास बैंकमार्फत यूनियनपे वालेटबाट नेपालमै क्यूआर भुक्तानी सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडमार्फत भुक्तानी स्वीकार गर्ने सुविधा सुरु गरेको छ । यो सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे प्लेटफर्ममार्फत लागू गरिएको हो । यससँगै यूनियनपे डिजिटल वालेट प्रयोगकर्ताले नेपालभर रहेका महालक्ष्मी विकास बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरूमा सजिलै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । विशेषगरी चीनलगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई यस सुविधाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले यात्राका क्रममा नगद बोक्नुपर्ने बाध्यता घटाउने बैंकको विश्वास छ । सन् २००२ मा स्थापना भएको यूनियनपे विश्वकै ठूला भुक्तानी सेवा प्रदायकहरूमध्ये एक हो । यसले ९.६ अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । बैंकका अनुसार यस सेवाको सुरुवातसँगै नेपालमा उपलब्ध क्यूआर पूर्वाधार अझ प्रभावकारी बन्नेछ । साथै डिजिटल नवप्रवर्द्धनलाई सुरक्षित, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ । यसैबीच, बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना सार्वजनिक गरेको छ । सोहीअनुसार 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये गोलाप्रथाबाट तीन जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गर्ने योजना ल्याइएको छ ।

निफ्राले शून्यमा झार्यो खराब कर्जा, वितरणयोग्य नाफा ५३.७७ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २८.५३ प्रतिशत घटेर ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७६ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेर २ करोड २२ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत घटेर १ अर्ब १० करोड ३५ लाख २ हजार रुपैयाँ र सञ्चालन नाफा २८.४२ प्रतिशत घटेर ९२ करोड २ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५२ लाख ४८ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ०.२३ प्रतिशत र कर्जा लगानी १६.५१ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७३.५५ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा शून्यमा झारेको छ । जबकि गत वर्षको चैतमा ०.२१ प्रतिशत खराब कर्जा थियो । बैंकका अनुसार आधार दर ६.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.०५ प्रतिशत थियो ।  बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर ३.९७ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा छ ।