९ महिनामा विकास बैंकहरूको नाफा साढे ५ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ । तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ५ अर्ब ५० करोड ३० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४९.०४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए। चैत्र मसान्तसम्ममा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । उक्त बैंकले तेस्रो त्रैमाससम्ममा एक अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ४२.९१ प्रतिशतले बढेको छ । दोस्रो धेरै नाफा आर्जन गर्ने कम्पनी मुक्तिनाथ विकास बैंकले  ९४ करोड २६ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३०.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए ।  तेस्रो धेरै नाफा कमाउने विकास बैकमा शाइन रेसुङ्गा रहेको छ । उक्त बैंकले चालु आवको ९ महिनामा ७८ करोड ८४ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५१ करोड ४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ५३.३८ प्रतिशतले बढेको छ । त्यस्तै, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख, ज्योति विकास बैंकले ६२ करोड ९४ लाख, महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा १०२८.२६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्योति विकास बैंकको १०५.३० प्रतिशतले नाफा बढेको छ । कामना सेवा विकास बैंकको १९.३७, सांग्रिला विकास बैंकको ११.५९ र महालक्ष्मी विकास बैंकको नाफा ५.२४ प्रतिशतले बढेको छ । 

८६ पदमा बढुवा रोकिँदा राष्ट्र बैंकमा खैलाबैला

काठमाडौं । वैशाख १४ गते नेपाल राष्ट्र बैंकको ७१औं वार्षिकोत्सव । राष्ट्र बैंकका कर्मचारीहरूका लागि लागि ऐतिहासिक र उत्सवको दिन । राष्ट्र बैंकले हरेक वर्ष वैशाख १४ गते उल्लासमय वातावरणमा आफ्नो स्थापना दिवस मनाउँछ । तर, यस वर्ष भने राष्ट्र बैंकका कर्मचारीहरूले विगत झैं उल्लासमय वातावरणमा स्थापना दिवस मनाउन पाएनन् । राष्ट्र बैंकका केही कर्मचारीहरूका लागि ७१औं वार्षिकोत्सव खल्लो बन्यो, कार्यक्रममा उपस्थित हुनेहरूका लागि अनौठो लाग्यो । ७१औं वार्षिकोत्सव कार्यक्रममा उपस्थित भइरहँदा कर्मचारीहरूले विरोध गरिरहेको वातावरण देखियो । राष्ट्र बैंकजस्तो संस्थामा पनि कर्मचारीहरूको विरोध भइरहँदा सबैको मनमा चासो रहिरह्यो, केही न केही प्रश्न उब्जाएको छ । कार्यक्रम भवनको हलतर्फ जाने मूल ढोकामै कर्मचारीहरूले ‘बढुवा होस्, जालझेल नहोस्’, ‘हाम्रो श्रमको सम्मान गर, बढुवामा अपमान नगर’, ‘भित्री सेटिङ बन्द गर र पारदर्शी बढुवा लागू गर’ जस्ता चर्का नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेर धर्ना दिइरहेका थिए । राष्ट्र बैंकप्रति हेर्ने अधिकांशको दृष्टिकोण सकारात्मक छ । हरेक क्षेत्रमा राम्रो संस्थागत उदाहरण दिँदा 'राष्ट्र बैंक जस्तो' भनिन्छ ।  तर, सोमबारको कर्मचारीहरूको विरोध कार्यक्रमले त्यो हेर्ने दृष्टिकोणमा भने केही प्रश्न उब्जाएको छ । संस्थाको वार्षिकोत्सवको दिन कर्मचारीहरूले विरोध गर्दा नकारात्मक सन्देश गएको राष्ट्र बैंककै कर्मचारीहरू बताउँछन् । आन्तरिक रूपमा नै उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरूले कर्मचारीहरूको माग सम्बोधन गर्नुपर्ने उनीहरूको तर्क छ ।  विवाद के हो ?  नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले गत फागुन १७ गते अविलम्ब पदपूर्ति गरियोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको थियो । त्यसबेला डेपुटी गभर्नर थिए डा. निलम ढुंगाना र बमबहादुर मिश्र । तर, उनीहरूबीच को बढी विदेश जाने भन्ने प्रतिस्पर्धा चल्यो । कहिले कोही विदेश भ्रमण त कहिले कोही विदेश भ्रमणमै व्यस्त हुँदा कर्मचारीहरूले राखेका मागको सुनुवाइ नै भएन । सुनुवाइ नभएपछि कर्मचारीहरूले राष्ट्र बैंकभित्रै वैशाख ४ गते कोणसभा गरेर डेपुटी गभर्नर किरण पण्डितलाई अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाए । त्यतिबेला गभर्नर डा. विश्वनाथ पौडेल विदेश भ्रमणमा थिए भने कामु गभर्नरको जिम्मेवारी पण्डितले पाएका थिए । कर्मचारीहरूले कामु गभर्नर पण्डितलाई कार्यसम्पादनबाट हुने बढुवा वैशाख १४ गतेभन्दा अगाडि नै गर्न ताकेता गरे । यदि यस अवधिमा बढुवा नगरेमा राष्ट्र बैंकको वार्षिकोत्सव बहिष्कार गर्ने र बाहिर विरोध कार्यक्रम जनाउने उनीहरूको चेतावनी थियो । ‘किरण पण्डित सर कामु गभर्नर हुनुहुन्थ्यो । तर, उहाँले पनि अनेक बहाना गरेर आजका दिनसम्म बढुवा गर्नुभएन,’ राष्ट्रिय कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरेले भने । राष्ट्र बैंकमा कर्मचारीहरूको बढुवा दुई किसिमको छ- कार्यसम्पादन/ज्येष्ठता र आन्तरिक प्रतिस्पर्धा । आन्तरिक प्रतिस्पर्धाको बढुवा लोकसेवा आयोगले गर्छ । लोकसेवा आयोगले चैतमा सबै परीक्षा लिएर अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा पुगिसकेको छ । तर, विगतमा कार्यसम्पादन बढुवा गरेर मात्रै लोकसेवा आयोगले परीक्षा लिन्थ्यो । घिमिरेले भने, ‘लोकसेवाबाट अन्तिम नतिजा आउन थालिसक्यो, तर यतातर्फ (कार्यसम्पादन)को प्रक्रिया अझै अघि बढेको छैन । समयमा बढुवा नहुँदा कर्मचारीहरूमाथि अन्याय भयो भन्ने हाम्रो माग हो । जागिरे जीवनको सबैभन्दा महत्वपूर्ण विषय भनेको बढुवा प्रक्रिया नै हो, सेवा सुविधा तत्पश्चात् हो । वृत्ति विकास सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ उनका अनुसार राष्ट्र बैंकको उच्च व्यवस्थापनले आलटाल गर्ने, बढुवामा हेलचेक्य्राइँ गर्ने, समयमा बढुवा नगर्ने, अनेक बहाना बनाउने गरेको छ । राष्ट्र बैंकमा कर्मचारी पदपूर्ति समितिको अध्यक्ष वरिष्ठ डेपुटी गभर्नर पदेन रहने व्यवस्था छ । साथै अर्का डेपुटी गभर्नर सदस्य र मानव संसाधन विभागको कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै लोकसेवाको सहसचिव र अर्थ मन्त्रालयको सहसचिव सदस्य गरी ५ जनाको पदपूर्ति समिति रहन्छ । ‘तर जब पदपूर्ति प्रक्रिया सुरु भयो, २ जना डेपुटी गभर्नर (डा. नीलम ढुंगाना र बमबहादुर मिश्र) आलोपालो गरेर भेट नहुने अवस्था आयो । आलोपालो गरेर कोभन्दा को बढी विदेश जाने प्रतिस्पर्धा बढ्यो,’ उनले भने, ‘हामीले फागुन १७ गते ध्यानाकर्षण पत्र बुझाएका थियौं, अविलम्ब अगाडि बढाइयोस् र पदपूर्ति गरियोस् भनेर । त्यो सुनुवाइ नभएपछि नयाँ डेपुटी गभर्नर आइसकेपछि वैशाख ४ गते कोणसभा गरेर अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझायौं । तर, उहाँले पनि अनेक बहाना गरेर आजका दिनसम्म पनि बढुवा गर्नुभएन ।’ अध्यक्ष घिमिरेका अनुसार निर्देशक ८ जना, उपनिर्देशक २० जना, सहायक निर्देशक १३ जना, सहायकबाट प्रधान सहायक ४५ जनाको बढुवा प्रक्रिया रोकिएको छ । तर, यीमध्ये कुनै एउटा पदमा मात्र बढुवा गरेको भए कर्मचारीहरूको माग सम्बोधन हुने थियो । तैपनि बेवास्ता गरिएको उनको भनाइ छ । ‘विभिन्न ४ वटा पदमा बढुवा गर्नुपर्नेछ । यी ४ वटामध्ये नभए पनि एउटामा बढुवा प्रक्रिया अघि बचाइदिनुहोस् भनेर आग्रह गरेका थियौं । साथै यदि कार्यव्यस्तता भएको भए एक हप्ता वा १० दिनभित्र गर्ने गरी लिखित सम्झौताको पनि माग गरेका थियौं । तर, उहाँहरूले गर्न मान्नुभएन,’ उनले भने । आफूहरूलाई वार्षिकोत्सव बहिष्कार गर्न मन नभए पनि बाध्य भएर गर्नु परेको उनको भनाइ छ । ‘राष्ट्र बैंक हाम्रा लागि कर्म दिने आमा जस्तै हो । हामीलाई बहिष्कार गर्नबाट रोक्न विभिन्न विकल्पहरू पनि दिएका थियौं । तर, उहाँहरूले केही पनि गर्नुभएन । त्यसैले विरोध र धर्ना कार्यक्रम गरेका हौं,’ उनले भने । रोशन कुमार सिग्देल उमेर हदका कारण गत चैत १८ गते कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भए । अवकाशमा जानुभन्दा अगाडिसम्म उनी डेपुटी गभर्नरका दाबेदार थिए । तर, समयमै सरकारले निर्णय नगर्दा सिग्देलले डेपुटी गभर्नर बन्ने अवसर गुमाएका थिए । त्यसैले कर्मचारीहरूको बढुवा समयमै नहुँदा विभिन्न अवसर गुमाउनुपर्ने कर्मचारीहरूको तर्क छ । ‘हामीले कर्मचारीको हकहित र संस्थाको सुधारका लागि आवाज उठाएका हौं । साथै संस्थाको गरिमा उचो बनाउन पनि हो । तर, एक-डेढ महिनामा सकिने प्रक्रिया लम्ब्याइएको छ । कर्मचारी बढुवा नहुँदा आर्थिक तथा व्यक्तिगत प्रतिष्ठामा समेत असर परेको छ,’ उनले भने । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले राष्ट्र बैंकमा निर्णय प्रक्रिया र कार्यान्वयन अपेक्षित गतिमा नभएको गुनासो गरे । उनका अनुसार दरबन्दी निर्धारणदेखि बढुवा प्रक्रियासम्ममा ढिलाइ भइरहेको छ । उनले भने, ‘कर्मचारीको बढुवा एक वर्षसम्म हुन सकेको छैन । दरबन्दी पारित हुँदाकै समयमा हामीले यसबारे ध्यानाकर्षण गराएका थियौं । तर, अहिले यो विषय झन् जटिल बन्दै गएको छ ।’ उनका अनुसार २०८२ भित्र सम्पन्न हुनुपर्ने बढुवा प्रक्रिया हालसम्म अघि नबढ्नु प्रशासनिक कमजोरीको संकेत हो । उनले प्रक्रिया शीघ्र अघि नबढाए संगठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिए । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईले बढुवा प्रक्रिया अलपत्र पर्दा संस्थाको समग्र कार्यसम्पादनमा असर पर्ने बताए । उनले भने, ‘संस्थाको सफलता भवनको उचाइले होइन, कर्मचारीको मनोबलले निर्धारण हुन्छ। तर, अहिले आन्तरिक बढुवा प्रक्रिया रोकिँदा कर्मचारीहरू निरुत्साहित भएका छन् ।’ भट्टराईले राष्ट्र बैंकमा दक्ष र सक्षम जनशक्ति भए पनि उनीहरूलाई टिकाइराख्ने दीर्घकालीन योजना अभाव देखिएको बताए । ‘यदि यस्तो अवस्था जारी रह्यो भने भविष्यमा राष्ट्र बैंक बौद्धिक आकर्षणको केन्द्रका रूपमा रहिरहन्छ कि रहँदैन भन्ने चिन्ता बढेको छ,’ उनले भने । 

९ महिनामा बैंकहरूको नाफा ४९.२१ अर्ब रुपैयाँ

काठमाडौं । ९ महिनामा वाणिज्य बैंकहरूले ४९ अर्ब भन्दा बढी नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत वर्षको तुलनामा १९.२९ प्रतिशत अर्थात् ७ अर्ब ९६ करोड रुपैयाँ बढी हो । गत आव २०८१/८२ मा ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।  चालु आवको चैत मसान्तसम्ममा १३ बैंकको नाफा बढेको छ भने ७बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कुमारी बैंकले बढाएको छ । कुमारी बैंकको १ हजार ३६१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्रै नाफा गरेका थियो ।  सार्वजनिक तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको १२९.३३ प्रतिशत बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ, हिमालयन बैंकको ५२.४९ प्रतिशत बढेर ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ, माछापुच्छ«े बैंकको ५०.४२ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ, सानिमा बैंकको ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  साथै प्राइम बैंकको ३८.५७ प्रतिशत बढेर ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ, सिटिजन्स बैंकको ३५.८२ प्रतिशत बढेर १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, नबिल बैंकको ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । नबिल बैंकको नाफा बैंकिङ क्षेत्रमै सर्वाधिक हो । गत वर्षको चैतमा बैंकले ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ खुद नाफा गरेका थियो ।  समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको २३.३६ प्रतिशत बढेर २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको २१.४८ प्रतिशत बढेर १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ, सिद्धार्थ बैंकको २०.७७ प्रतिशत बढेर २ अर्ब १ करोड ४८ लाख ५५ हजार रुपैयाँ, एनएमबि बैंकको १३.२५ प्रतिशत बढेर २ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ, नेपाल बैंकको ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ नाफा गरेका छन् ।  चालु आवको चैत मसान्तसम्ममा विभिन्न ७ बैंकको नाफा भने घटेको देखिन्छ । जसमा सबैभन्दा धेरै नाफा प्रभु बैंकको घटेको छ । प्रभु बैंकको ५४.६१ प्रतिशत घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।  यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.६८ प्रतिशत घटेर ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ, कृषि विकास बैंकको २४.४२ प्रतिशत घटेर १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् ।  यस्तै, एभरेष्ट बैंकको ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.२३ प्रतिशत घटेर २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको २.९३ प्रतिशत घटेर ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् ।