नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ ।  बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका  सदस्य सरिता भट्ट अधिकारीले रिबन काटी नर्सिङ रुमको उद्घाटन गरिन् । बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो ।  नर्सिङ रुमले कर्मचारीहरुलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रुपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।  कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । 

नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखामार्फत व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् । यस सहकार्यबाट कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यकता पूरा गर्न सक्ने, समय बचत हुने तथा दुवै संस्थाबीचको संस्थागत सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ । वैशाख १६ गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक डा. सृजना पन्तले सम्झौतामा हस्ताक्षर गरेका थिए । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र युवा जनशक्तिको प्रयोगमार्फत बैंकले ग्राहक सेवामा सुधार गर्दै प्रतिस्पर्धी रूपमा अघि बढिरहेको जनाएको छ ।    

एनसीएचएलसँग राष्ट्रिय वाणिज्य बैंकको सम्झौता, नेपालपे कार्ड जारी गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच तथा नेपालपे कार्डमा आवद्ध हुन सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् । यस सम्झौतापछि बैंकले आफ्नो प्रणाली (स्वीच) इन्टिग्रेसन सम्पन्न गरेपछि ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपालपे नेटवर्कमार्फत कारोबार स्वीकार गर्न सक्नेछ । हालसम्म एनपीएस प्रणालीमा ३४ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरका रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये ५ संस्थाले लाइभ सञ्चालन सुरु गरिसकेका छन् । एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’सँगको सहकार्यमा नेपालपे कार्ड अब विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेशनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको नेपालपे कार्डमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका कार्डहरू नेपालभित्र र विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । साथै, अन्तर्राष्ट्रिय कार्डहरू (जस्तै रुपे कार्ड) पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । एनपीएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय स्विचको रूपमा काम गर्नेछ । यसले घरेलु कार्ड कारोबारको लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीमा नवीन प्रविधिको विकास र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।