कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख  रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्धमीलाई आकर्षित गर्न कृषिसँग सम्बन्धित कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आइरहेको छ ।  कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिंदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको 'प्रदेश विशेष कृषि कर्जा' प्रदान गर्ने गरेको छ । त्यसैगरी स्थानीय साना कृषकलाई लक्षित गरी कुनैपनि प्रशोधन शुल्क नलिई बैंकले  ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्म 'साना किसान सरल कर्जा' उपलब्ध गराइरहेको छ । साथै बैंकले किसानहरुका लागि 'किसान क्रेडिट कार्ड'को सुविधा पनि उपलब्ध गराइरहेको छ ।  कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ ।  त्यसैगरी कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ । यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीको रुपमा भित्र्याई बैंकले विभाग, प्रादेशिक कार्यालयहरु र शाखा कार्यालयहरुमा खटाउँदै आएको छ । बैंकले ७७ वटै जिल्लाहरुमा रहेका आफ्ना सबै ३१४ वटै शाखाहरु मार्फत कृषि कर्जा उपलब्ध गराउँदै कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ । साथै बैंकले समय समयमा ग्राहकहरुलाई वित्तीय सचेतनाका कार्यक्रम मार्फत कृषि कर्जाको बारेमा जानकारी समेत गराउने गरेको छ । परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामिण किसानहरुलाई लक्षित गर्दै यस बैंकले सरकारी नीति तथा प्राथमिकतालाई आत्मसाथ गरी कृषि कर्जा मार्फत पूँजी परिचालन गर्ने र कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणमा सहयोग पुर्‍याउँदै आइरहेको छ । यसले कृषिको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्येक्ष तथा अप्रत्येक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आय आर्जनमा वृद्धि, ग्रामीण अर्थतन्त्रको विकास, मूल्य शृंखलामा वृद्धि जस्ता अर्थतन्त्रका विविध पाटामा  सकारात्मक प्रभाव पारेको छ ।  

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।  बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।  दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।  निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ असार ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । साथै बैंकले १० वर्षदेखि चल्ती तथा हकदावी नपरेका निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई रकम दावी गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाताहरू बन्द गरिनेछ भने सोही अवधिदेखि चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम लिन बैंकमा सम्पर्क गर्न आग्रह गरिएको हो ।  बैंकले २० वर्षसम्म पनि कसैले दावी नगरेको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ ।