नबिल बैंकका ग्राहकलाई भारतको म्याक्स हेल्थमा १२ प्रतिशत छुट

काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरुले ओपीडी र आइपीडी सेवा लिँदा यो सुविधा पाउने छन् । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिंग अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । उनले छुटलाई वृद्धि गर्न प्रयास गर्ने पनि जानकारी दिए । कार्यक्रममा बोल्दै वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाहरुबाट जटिल रोगहरु जस्तै मृगौला, लिभर, बोन म्यारोको प्रत्यारोपन, मुटुको शल्यकृया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताहरुले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेमा उनले सधैँ तत्पर रहने जनाए ।

बैंकहरुलाई दिगो बनाउन ब्याज बढायौं, परिवर्तित ब्याजदरमा बानी बसालौं : अध्यक्ष उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक मात्रै ब्याजदर बढाएको बताउँदै यो बीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । उनले व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको जिकिर गरे । उनले अहिले डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवासायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए । अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको जनाए । चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताउँदै उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए । उपाध्यायले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए । उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताए । उनका अनुसार अहिले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेका छन् । ‘गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको छ, गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार मात्रै ५८ प्रतिशत रहेको छ, वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको छ, बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढेको छ, उनले बताए । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए । उनले कुनै व्यवसायमा लगानी गर्ने भन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए । अहिले बढेको बैंकको ब्याजदर लामो समयसम्म रहन नहुने बताउँदै अहिले कर्जाको माग र ब्याजको असन्तुलनलाई सन्तुलनमा ल्याउनको लागि अझै केही समय लाग्ने भन्दै व्यवसायीहरुलाई धैर्य गन आग्रह गरे । निर्देशक भट्टराईले बैंक कर्जा लिनु भनेको उच्च जोखिमको काम भएको बताए । व्यवसायीहरुले कर्जाको लागि विकल्प निकालेर पुँजी बजारमार्फत पुँजी परिचालन गर्न सक्नुपर्ने बताउँदै उनले बजारमा तरलता अभावको समस्या हल गर्न निर्यात बढाउने वा रेमिट्यान्स बढी भित्र्याउनुपर्ने बताए ।

एनएमबि बैंकले ल्यायो पैसा बचत हुनेसहित क्यासब्याकको योजना, कुनबाट कति पाइन्छ ?

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेकाे छ । यस उत्सवलाई लक्षित गरी बैंकले २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेकाे छ । एनएमबि बैंकले असाेज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् । एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० रुपैयाँ वा ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्डबाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशथ वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यसका साथसाथै, इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।