राष्ट्रिय वाणिज्य बैंकले किंग्स कलेजका उद्यमी विद्यार्थीलाई सहुलियत ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रवद्र्धन गर्ने इन्क्युवबेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । काठमाडाैंमा आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । अर्धवार्षिक रूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पु¥याउँदै आइरहेको कलेजले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रवद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए । ‘उद्यमशीलता प्रवद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,’ साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए, ‘किंग्स कलेजजस्तो उद्यमशीलता केन्द्रित प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ ।’ श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने छ । ‘कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,’ अर्यालले जानकारी दिए ।

राष्ट्र बैंकले १२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ गरी कूल १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । आइतबार ३ बजे दुवै ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ ।

सिद्धार्थ बैंकबाट अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । सिद्धार्थ बैंकले दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले असोज ८ गतेदेखि लागु हुने गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २०० रुपैयाँ) क्यास ब्याक पाउन सक्ने छन् । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ । बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।