ब्याजदर ट्रेण्डले बढेको हो, आत्तिनु पर्दैन : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दा नआत्तिन आग्रह गरेका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएकाले ब्याजदर बढ्दा धेरै आत्तिनु पर्दैन,’ उनले भने । रुस र युक्रेन युद्धका कारण विदेशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको हुँदा यसले नेपालमा प्रभाव पारेको उनको भनाई छ । साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति पनि सकारात्मक आउने उनले बताए । ‘अहिले विभिन्न सूचकमा रेमिटान्सले ठूलो योगदान गरेको छ, हरेक महिना यो तथ्यांक बढी रहेको छ, पर्यटकको संख्या बढेको छ, नेपाल राष्ट्र बैंकले रेमिटान्स र पर्यटकबाट अर्थतन्त्र सहज हुने ठूलो अपेक्षा गरेको छ,’ उनले भने । अहिले नेपाल के के मा आत्मनिर्भर छ भनेर आयात र निर्यातको तथ्यांकले नदेखाएको बताउँदै उनले आगामी दिनमा लसुन, प्याज, आलु लगायत कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । उनले आयात प्रतिस्थापन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । ठूला छिमेकी देशमा जनसंख्या धेरै भएकाले निर्यात गर्दा ठूलो बजार रहेको बताउँदै उनले अर्बौं जनसंख्या भएका छिमेकी देश रहेकाले निर्यातको लागि बजारको चिन्ता गर्नु नपर्ने उनको भनाई छ । नाफिजको कार्यक्रममा बोल्दै उनले आर्थिक पत्रकारिताको इतिहास धेरै लामो नभएको र यो पत्रकारिता प्रोफसनल रूपमा विकास हुनुपर्ने बताए ।

ग्लोबल आइएमई बैंकले पहिलो पटक पायो क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विश्वमै पहिलो पटक आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा पाएको छ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकलाई उक्त सुविधा दिएको हो । यो सम्बन्धमा बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आईएफसीले विश्वमै पहिलो पटक ग्रीन ट्रेड फाइनान्स लाइन सुविधा दिएको हो । यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यस कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असर लाई समेत सम्बोधन गर्दछ । यो कार्यक्रमले ग्लोबल आइएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरुका ग्राहकहरुबीच नयाँ सम्बन्धहरु विस्तार गर्न सहयोग गर्नेछ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे । ‘यो आईएफसीको जीटीएफपी लाइनले ग्लोबल आइएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैंकलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्दत गर्नेछ,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए, ‘वास्तवमा, यो हाम्रो रणनीतिक एजेन्डामा फिट हुन्छ किनकि यसमा जलवायुको विषय समावेश छ ।’ ‘जीटीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्नेछ,’ बाबाकर एस फाये, नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधिले भने, ‘यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुका साथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जनलाई कटौति गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ ।’ ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् । उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताए । उनले शाखा विस्तारले पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।