गरिब तथा विपन्न विद्यार्थीलाई कामना सेवा विकास बैंकको शैक्षिक सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय वालिङमार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक तथा साक्षरता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलमा उपचार सेवा लिँदा अस्पतालले तोकेको विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । उक्त छुट नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने जनाइएको छ । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा बि एण्ड बि हस्पिटलका तर्फबाट प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिमार्फत छिटो, छरितो तथा गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको पनि जनाएको छ ।
वित्तीय क्षेत्रमा राजीनामाको लहर, राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति नै रित्तियो
काठमाडौं । सरकारको मुख्य लगानी रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सञ्चालकहरूले राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन् । यससँगै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, निक्षेप तथा कर्जा सुरक्षण कोषका अध्यक्ष र प्रमुख पदमुक्त भएका छन् । वर्तमान सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जनालाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो । तर, नेपाल राष्ट्र बैंक र सरकारी बैंकका पदाधिकारीहरू भने त्यसबाट जोगिएका थिए । पछिल्लो समय सरकारले उनीहरूलाई पनि मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि राजीनामा दिएका हुन् । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले राजीनामा दिएका छन् । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले पनि पदबाट राजीनामा दिएका छन् । साथै नेपाल बैंक सञ्चालक समिति सदस्य साधना घिमिरे र माया आचार्यले समेत पद छाड्ने तयारीमा छन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पनि राजीनामा दिएका छन् । यस्तै सञ्चालक समिति सदस्य लक्ष्मण घिमिरे, डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राणा र हरिकुमार सिलवाल पनि पदबाट बाहिरिएका छन् । सबै सदस्यले राजीनामा दिएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति नै रित्तिएको छ । नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे, सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पदमुक्त भएका छन् । यस्तै, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पनि राजीनामा दिइसकेका छन् ।