सिटिजन्स बैंकका ग्राहकलाई फ्लेक्स फिटनेस सेन्टरमा २० प्रतिशतसम्म छुट
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले फ्लेकश फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको जनाएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
मेगा बैंकको कार्यवाहक सीइओमा महेश शर्मा ढकाल नियुक्त
काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ढकाललाई कार्यवाहक सीइओमा ढकाललाई नियुक्त गरेको हो । ढकाललाई पुस २५ गते सोमबारबाट लागु हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीइओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । यसअघि ग्लोबल आईएमई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकालले बैंकिङ क्षेत्रमा अढाई दशक बिताईसकेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गरेका ढकाल कमर्स एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् ।
ठूल्ठूला भवन र चिल्ला गाडी बैंकहरुकै कारण पाइएको हो, नाफा कमाउनु पर्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा कमाउनु हुन्न भन्ने तर्क राख्न नहुने बताएका छन् । साेमबार ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जरपछिको एकीकृत कारोबार आरम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुको नाफा कमाएको भन्दै वहस भएको बताउँदै त्यस्तो धारणा राख्न नहुने बताएका हुन् । ‘अहिले शहरमा देखिने ठूल्ठूला भवन र चिल्ला गाडीहरु बैंकहरुकै कारण भएको हो, अनावश्यक नाफा कमाए भन्नु हुँदैन, बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ, ठूलो बैंक हुँदा जिम्मेवारी बढेको छ, कान्तिपथमा सानो कुनामा रहेको फाइनान्स कम्पनी आज अन्तर्राष्ट्रिय स्तरको बैंक बनेकाे छ, बैंक बलियो भएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ,’ उनले भने । उनले पछिल्ला दिनमा पूर्वाधारमा बैंकको ठूलो भूमिका निर्वाह गरेको गरेकाे बताए । अध्यक्ष गाेल्छाले पछिल्लो समय अर्थतन्त्र संकुचित हुँदा उद्योगी व्यवसायीको मनोबल घटेको भन्दै नयाँ सरकार आएपछि केही सुधार भएकाे दाबी गरे । यस्तै, उनले मौद्रिक नीतिले क्याल्कुलेटिभ रिस्क लिनु पर्ने बताउँदै निजी क्षेत्रलाई लगानीयोग्य वातावरण बनाउनु पर्नेमा जाेड दिए ।