काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुले दशैं तिहारमा १८ दिने विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकरले दशैं र तिहार गरी कुल १८ दिन बिदा पाउने भएका हुन् ।
राष्ट्र बैंकका अनुसार बैंकरले घटस्थपनासँगै असोज ३१ गते (शनिबार) देखि कात्तिक ६ गते (शुक्रबार) सम्म विदा पाउने छन् । फूलपातीदेखि द्वादशीसम्म लगातार ७ दिन र सोही अवधिमा पर्ने शनिबार समेत गरी दशैं मनाउन बैंकरहरूले कुल ८ दिनको बिदा पाउनेछन् ।
कात्तिक ७ गते शनिबार भएकोले सो दिन पनि बैंकरले विदा पाउने छन् भने सरकारले आइतबार पनि विदा दिएकोले कात्तिक ८ गते पनि बैंकरले विदा पाउने छन् । दशैंमा मात्रै बैंकरले १० दिन विदा पाउने छन् ।
यस्तै, बैंकरले तिहार पर्वका लागि ८ दिने विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक २२ गते (आइतबार) देखि कात्तिक २६ गते (बिहीबार) सम्म बिदा तोकेको छ ।
कात्तिक २१ गते शनिबार परेकोले उनीहरु सोही दिनदेखि विदामा बस्नेछन् भने सो साता २७ शुक्रबार, २८ गते शनिबार र २९ गते आइतबार परेकोले बैंकरले १९ गतेदेखि २७ गतेसम्म विदा मनाउनेछन् । तिहारमा मात्रै बैंकरले ८ दिन विदा मनाउनेछन् ।
विदाको अवधिमा पनि सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै राष्ट्र बैंकले केही अत्यावश्यक सेवाहरू भने न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन हुने जनाएको छ ।