लक्ष्मी र सनराइज बैंकको मर्जर पक्का, अध्यक्ष र सीईओ लक्ष्मीले पाउने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम मर्जरका लागि विभिन्न चरणमा छलफल गरेका थिए । धेरै पटक दुई बैंकका मर्जर समितिबीच छलफल भएपछि १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो । तर, सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढिको फरक पर्न गएमा सोही अनुसार स्वाप रेसियो निर्धारण हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए । ‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर, ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने । मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ । मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । छिटो छरितो काम गर्ने सानो सञ्चालक समिति बनाउने योजना रहेको उनको भनाइ छ । ‘धेरै विषयमा कुराकानी हुन बाँकी छ, एमओयू भएपछि संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो सम्झौता पछि हुनेछ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’ सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?  

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस सेयरभन्दा नगद बढी

काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछन ।

कृषि व्यवसाय प्रवर्द्धन गर्न मेगा बैंकले गर्याे किन्निहो प्रालिसँग सम्झौता

काठमाडौं । मेगा बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धनका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेटसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा बैंकले कर्जा प्रदान गर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्ने गरेको बताए । बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।