काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
सम्झौतापछि सिटिजन्स बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्कालै ‘लुप क्रेडिट’ सुविधा लिन सक्नेछन् ।
त्यस्तै, ग्राहकले आफ्नो सिटिजन्स बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गरेको भुक्तानीलाई मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’मा रूपान्तरण गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई आवश्यकताअनुसार कर्जा उपयोग गर्न तथा खरिद खर्चलाई व्यवस्थित गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
यस सहकार्यले ग्राहकको खरिद प्रक्रिया सहज बनाउनुका साथै भुक्तानीलाई सरल र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ । डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप पहुँचयोग्य बनाउने उद्देश्यले गरिएको यस सम्झौताबाट ग्राहकले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।