ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पाँच खर्ब ५ अर्ब

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आज (पुस २५ गते सोमबार) हुने भएको हो । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्ने भएको हो । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी सञ्चालक बन्नेछन् । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपश्चात् कूल सम्पत्ति ५ खर्ब ५ अर्ब र कूल पूँजी ५७ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मर्जर पश्चात् बैंकको ४० लाखभन्दा बढी ग्राहक संख्या पुग्नेछन् । शाखा सञ्जाल देशविदेश गरी कूल १ हजार १ वटा भन्दा बढी हुनेछन् । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् ।

एभरेष्ट बैंकको २ अर्बको ऋणपत्र आजदेखि बिक्री खुला, ब्याज कति दिन्छ ?

काठमाडौं । एभरेष्ट बैंकले आज (पुस २५ गते, सोमबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगतका लागि र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो वार्षिक साधारण सभाले गोल्यानलाई दोश्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । गोल्याल एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । अध्यक्ष गोल्यानको कार्यकाल आगामी २ वर्षसम्म रहनेछ । यसअघि उनी २०७७ फागुनमा अध्यक्षमा चुनिएका थिए । उनको कार्यकालमा संस्थालाई बैंकिङ्ग क्षेत्रको अभिन्न अंगकको रुपमा स्थापित गर्न सफल भएका छन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् । [pdf id=378812]