हिमालयन र सिभिल बैंकबीच आज अन्तिम मर्जर सम्झौता, माघ १८ गते एकीकृत कारोबार

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरको अन्तिम सम्झौता हुने भएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका हुन् । अन्तिम सम्झौताका लागि दुवै बैंकको सञ्चालक समितिले स्वीकृति समेत प्रदान गरिसकेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले विकासन्युलाई जानकारी दिए । साथै, दुवै बैंकको एकीकृत कारोबारको मिति पनि तय भएको छ । सञ्चालक बोगटीले हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको जानकारी दिए । दुवै बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । वार्षिक साधारणसभाले पारित गरेपश्चात् एकीकृत कारोबार लागि प्रक्रिया अघि बढाइनेछ । ‘दुवै बैंकको पुस २८ गते वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गर्छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं,’ उनले भने । किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ? हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

लुम्बिनी विकास बैंककाे १२ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले बैंककाे प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे । बैंककाे संचालक समितिले आ. व. २०७८/७९ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर सहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साथै, सभाले नयाँ सञ्चालक समितीको निर्विरोध चयन गरेको छ । जसमा, संस्थापक सेयरधनीहरु (समूह ‘क’) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह ‘ख’) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन् । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

प्रभु र सेन्चुरीको एकीकृत कारोबार सुरु, ७ अर्बसम्म एकल कर्जा दिन सक्ने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो । एकीकृत कारोबार कार्यक्रममा बोल्दै प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनले मर्जरपछि प्रभु बैंकले ठूलो ग्राहकलाई सहज रुपमा कर्जा प्रवाह गर्ने बताए । बैंकले ७ अर्बसम्म एकल कर्जा दिन सक्ने उनले बताएका छन् । यस्तै, सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा कान्छो बैंकको रुपमा स्थापना भएको सेन्चुरी बैंक प्रभुसँगको मर्जरपछि टप फाइभमा पुगेको बताए । उनले मर्जरपछि प्रभु बैंक एक्लैले मेगा प्रोजेक्ट गर्न सक्ने पनि बताए । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले मर्जरपछि सेयरधनीलाई अधिकतम प्रतिफल दिने प्रयास गर्ने बताए । ‘मेरो  नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउने छु, अधिकतम प्रतिफल सेयरधनिलाई दिने प्रयास हुनेछ,’ उनले भने । प्रभु बैंक र सेञ्चुरी बैंकबीच स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् मर्जर पश्चात् सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १ सय कित्ता नै सेयर पाउनेछन् । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेकाे छ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ र कूल कर्जा २ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको शाखा सञ्जाल ३४१ वटा र २९६ वटा एटिएम मेसिन पुगेको छ । सेञ्चुरी बैंकमा १ हजार १४३ जना र प्रभु बैंकमा २ हजार ४१२ जना कर्मचारी कार्यरत रहेका छन् । मर्जर पश्चात् प्रभु बैंककाे कर्मचारी संख्या ३ हजार ५५५ पुग्नेछ ।