नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पौने ५ खर्ब पुग्यो

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो ।

दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ ।

मर्जरपश्चात् शाखा कार्यालय २९६ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् ।

मर्जरपश्चात् बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् ।

मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।

Share News