गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ

चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो । बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरेँ । सायद म नेपालमा सीए गर्नेमध्ये १२/१३ नम्बरमा पर्छु । त्यतिखेर नेपालमा सीएको धेरै ठूलो माग थियो । सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कले सीएका लागि दुई जना माग गरेको थियो । तर, एउटा पनि आवेदन परेन । मेरो बुबाको एउटै चाहना मलाई सरकारी जागिरे भएको हेर्ने थियो । नेपाल राष्ट्र बैङ्क वा अर्थ मन्त्रालयमा जागिर खाएको हेर्ने उहाँको इच्छा थियो । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए कुल शेखर शर्मा । उहाँ मलाई नेपाल राष्ट्र बैङ्कमा आवद्ध गराउनका लागि धेरै प्रयास गर्नु भयो । म पनि नेपाल राष्ट्र बैङ्कमा काम गरेर दक्ष बन्न चाहन्थेँ । बुबाको गभर्नर शर्मासँग राम्रो सम्बन्ध थियो । बुबासँग सल्लाह गरेर गभर्नरले धेरै प्रयास गरेपछि सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कमा जागिर सुरु गरेँ । मेरो मासिक तलब १२७५ रुपैयाँ थियो । राष्ट्र बैङ्कमा काम गर्दै गर्दा म अन्तर्राष्ट्रिय वित्त कोष (आईएमएफ) मा पनि काम गर्न गएँ । त्यहाँ काम गर्ने अवसर पाएँ । त्यतिसम्म धेरै अनुभव बटुलिसकेको थिएँ । मैले त्यसअघि नै नेपालमा निजी क्षेत्रको बैङ्क खोल्नु पर्छ भन्ने सोचिसकेको थिएँ । नेपाल राष्ट्र बैङ्कमा काम गर्दैगर्दा मलाई बैङ्क खोल्ने इच्छा लाग्यो । त्यसका लागि प्रक्रिया पनि सुरु गरेँ । विदेशी लगानीकर्ताको लगानीमा नेपालमा बैङ्क खोल्न सुरु भइसकेको थियो । विदेशी लगानीसहितको ग्रीनलेज बैङ्क र इन्डोस्वेज बैङ्क खुलिसकेका थिए । नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क पहिले नै खुलिसकेका थिए । अमेरिकामा ६ महिना काम गर्दा धेरै अनुभव लिइसकेको थिएँ । धेरैसँग चिनजान पनि भइसकेको थियो । बैङ्क खोल्ने विषयमा राष्ट्र बैङ्ककै साथीहरुसँग पनि सल्लाह सुझाव लिएँ । उनीहरुले पनि अगाडि बढ, राम्रो योजना छ भनेर मलाई काम गर्न प्रोत्साहन गरे । उनीहरुले राष्ट्र बैङ्कमै काम गरेर त्यसको प्रक्रिया गर्न सकिँदैन बिदा लिएर काम गर भनेपछि मैले ६ महिनाको बिदा लिएँ । बिदा स्वीकृत पनि भयो । यस विषयमा मैले अर्थमन्त्री भरत बहादुर प्रधानसँग कुरा गरेँ । उहाँले पनि तपाईं गर्नुहुन्छ भने हामी लाइसेन्स दिन्छौं भन्नुभयो । उहाँले ‘ग्रीन सिग्नल’ दिनु भयो । राष्ट्र बैङ्कबाट पास भएर अर्थमन्त्रालय गयो । अर्थमन्त्रालय गएपछि पनि पास भयो । त्यो बेलामा सबै विषयको ‘रेगुलेट’ दरबारबाट हुन्थ्यो । दरबारमा गइसकेपछि केही जवाफ आएन । फाइल अड्कियो । वि.सं. २०४६/४७ मा जनआन्दोलन भयो । आन्दोलन भएपछि केही परिवर्तनको आभास भयो । रामशरण महत र महेश आचार्य अर्थमन्त्रालमा सल्लाहकार भएर आउनु भयो । महतजीसँग अमेरिकामा हुँदा चिनजान थियो । बैङ्कको लाइसेन्सको विषयमा छलफल गरेँ । उहाँले लाइसेन्स दिनका लागि प्रतिवद्धता जनाउनु भयो । त्यसबेला म वाणिज्य बैङ्कमा काम गरिरहेको थिएँ । अर्थमन्त्रीले त्यतिखेर राष्ट्रिय वाणिज्य बैङ्कको महाप्रबन्धका लागि काम गर्ने आग्रह गरेपछि मैले वाणिज्य बैङ्कमा काम सुरु गरिसकेको थिएँ । वाणिज्य बैङ्कमा बसेर निजी बैङ्कका लागि काम गर्न मिलेन । मैले बैङ्क छोड्न पनि मिलेन । अगाडिका फाइलहरु थन्किसकेका थिए । फाइल फेरि बनाउनु पर्ने भयो । फेरि बनाएर पठाउँदा एक वर्ष समय लाग्यो । अर्थ मन्त्रालयमा हिमालयन बैङ्क प्रस्ताव अगाडि बढ्यो । मैले वाणिज्य बैङ्कबाट राजीनामा दिएँ । त्यतिखेर अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । तपाईंहरु जस्तो मान्छेले हामीलाई सहयोग गर्नुपर्नेमा राजीनामा किन दिएको भनेर मसँग रिसाउनु पनि भयो । हिमालयन बैङ्कमा मेरो परिवारको सेयर हुन्छ, म वाणिज्य बैङ्कमा बस्यो भने स्वार्थ बाँझिन्छ भनेर कन्भिन्स गरेपछि उहाँ सहमत हुनुभयो । राजीनामा स्वीकृत गर्नु भयो । त्यसपछि जन्मियो हिमालयन बैङ्क हिमालयन बैङ्क नेपालीहरुले नै खोलेको र नेपालीले नै नेतृत्व गरेको निजी क्षेत्रको पहिलो बैङ्क हो । नेपाल राष्ट्र बैङ्कले बैङ्क खोल्दा सबै समुदायलाई समेट्न भनेको थियो । त्यसैले पनि अहिले हिमालयन बैङ्कमा सबै समुदायका व्यक्तिहरु सेयरधनीका रुपमा हुनुहुन्छ । हिमालयन बैङ्क एउटा मात्रै बैङ्क हो जसमा सबै समुदायको लगानी छ । त्यसपछि अरु बैङ्कहरु पनि लाइसेन्सका लागि राष्ट्र बैङ्क गए । हिमालयन बैङ्क स्थापना भएपछि नेपाल एसबिआई, एभरेष्ट, बैङ्क अफ काठमाण्डू लगायतका बैङ्क स्थापना भए । लाइसेन्सका लागि राष्ट्र बैङ्क जानेको भीड बढ्यो । दुई/दुई वर्षमा लाइसेन्स दिएको भए मोनोपोली हुन्थेन । एकै वर्ष ८/१० वटा बैङ्क आए । जसले गर्दा भद्रगोल भयो । बैङ्कहरुबीच स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्यो । प्रतिस्पर्धा हुनु राम्रो हो तर नचाहिने प्रतिस्पर्धा हुनु हुँदैन । नेपाली बैंकिङ अभ्यास ८/१० वर्ष राम्रो भएको थियो । सुरुमा राष्ट्र बैङ्कले जे गरेको थियो सहि थियो । तर, विस्तारै बैङ्कको लाइसेन्सलगायत अन्य विषयमा पनि राजनीतिक हस्तक्षेप बढ्न थाल्यो । सन् १९९२ मा नेपालीसँग धेरै पैसा नै थिएन । त्यतिखेर जो कोहीलाई १ करोड निकाल्न पनि सकस हुन्थ्यो । सुरुमा हिमालयन बैङ्कको पूँजी १२ करोड रुपैयाँको थियो । १२ करोड रुपैयाँ जारी पुँजी भनेर चुक्ता पुँजी ६ करोड रुपैयाँबाट सुरु गरेका हौं । त्यसमा प्रमोटरहरुको ३ करोड थियो । अर्थमन्त्रालयका अधिकारीहरुले ५१ प्रतिशत दिनु हुँदैन भनेका थिए । मैले उनीहरुलाई कन्भिन्स गरेपछि उनीहरुले दिन मान्नु भयो । हिमालयन बैङ्क सञ्चालन गर्दा मैले मेरो सम्पत्ति बिक्री गरेँ । भैसेपाटीको ४० रोपनी जग्गा बेचेँ । हेटौंडाको डेढ बिघा जग्गा बिक्री गरेँ । त्यो सबै २७ लाखमा बिक्री गरेको थिएँ । अहिले त्यो सम्पत्ति राखेको भए आज मेरो बैङ्कको सेयरभन्दा २० गुणा माथि हुन्थ्यो । तर पनि त्यो बेला मेरो त्यो सही निर्णय थियो । सन् १९९२ अगाडि नै मैले हबिब् बैङ्क ल्याएको थिएँ । मैले जुन सेयर होल्डर ल्याएँ, उहाँहरुलाई हाम्रो सेयर लकिङ हुनुपर्छ, ५ वर्षभित्र तपाईंले बेच्न पाउनु हुन्न भनेर ‘जेन्टलमेन एग्रिमेन्ट’ गराएँ । त्यतिखेर त्यस विषयमा नियम कानुन पनि खासै थिएन । पछि राष्ट्र बैङ्कले त्यसमै चढेर संसारमा नभएको नियम बनायो । प्रमोटर सेयरमा अनिश्चितका लागि लकिङ पिरियड तोक्यो । ३० वर्षसम्म प्रमोटर भएर बस्नु पर्ने नीति कुनै पनि ठाउँमा छैन । प्रमोटरले बैङ्कबाट बाहिरिन खोजेको अवस्थामा जान सक्नु पर्छ । लकिङको व्यवस्था भए पनि केही निश्चित समयको लागि हुनु पर्छ । म हिमालयन बैङ्कमा कार्यकारी निर्देशक थिएँ । कार्यकारी निर्देशकको कार्यकाल हुन्थ्यो । हमालयन बैङ्क सञ्चालन भएको ८ वर्षपछि मैले छोड्ने निर्णय गरेँ । तर, सञ्चालक समितिले मानेन । त्यतिखेर विकास बैङ्क वा पूर्वाधार बैङ्कमा काम गर्ने मेरो सोच थियो । तर, बैङ्कको सञ्चालक समितिले एक कार्यकाल पुनः गर्नुपर्ने भनेपछि काम गरेँ । साढे ११ वर्ष हिमालयन बैङ्कमा काम गरेपछि बैङ्क छोडेँ । हिमालयन बैङ्क खोलेर नेपालीले पनि बैङ्क खोल्न सक्दो रहेछ । नेपालीले पनि बैङ्क चलाउन सक्दो रहेछ भन्ने सन्देश मैले दिन सकेँ । यसमा म गर्व गर्छु । बैङ्कमा ६० प्रतिशत सेयर नेपालीको थियो । प्रतिफलको हिसाबमा पनि अगाडि देखियौं । यो नेपाली बैङ्करका लागि राम्रो हो । इन्भेष्टमेन्ट बैङ्कमा अप्रत्यासित प्रवेश हिमालयन बैङ्क छोडेको पछिल्लो दिन ठमेलमा एउटा कार्यक्रममा गएको थिएँ । ठमेलमा भएको कार्यक्रममा इन्डोस्वेज बैङ्कका कार्यकारी निर्देशकले मलाई आफु बैङ्कबाट बाहिरिने कुरा राख्नु भयो । उहाँले मलाई सेयर खरिद गर्न आग्रह गर्नुभयो । मैले प्रतिसेयर २८० मा खरिद गर्न सकिने बताएँ । उहाँले ३ सयमा दिनु भनेपछि कुरा मिल्यो । त्यतिखेर बैङ्कको सेयर मूल्य ६ सय रुपैयाँ थियो । सन् २००२ बाट आफ्नो सेयर बिक्री गरेर सो समूह बाहिरियो । हामीले पछि नेपाल इन्भेष्टमेन्ट बैङ्क नाम राख्यौं । फ्रेन्चले छोड्नुको कारण फ्रान्सको केन्द्रीय बैङ्कले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशको बैंकिङ बजारलाई जोखिमपूर्ण ठहर गर्याे, धेरै कडा नियमन बनायो । धेरै प्रोभिजनिङ व्यवस्था गरिदियो । उनीहरुले जोखिम देखे र नेपाल छोड्ने निर्णय गरे । अहिले बैङ्कहरुको नाफा घटिरहेको छ । धेरै बैङ्कले सम्पत्ति बेचेर नाफा देखाएका छन् । बैङ्कहरुको औसत प्रतिफल ११ प्रतिशत मात्रै छ । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । तपाईंले एक पाइँला अगाडि बढाउँदा अर्कैले तीन पाइला अगाडि बढाउन सक्छ । भएको पैसालाई दोब्बर–तेब्बर बनाएर काम गर्न सकिन्छ । बिजनेशम्यान जोखिम लिन्छन् । जसले जोखिम लिएर नयाँ आइडियामा लगानी गर्छ उसैले पैसा कमाउँछ । मैले हिमालयन बैङ्क छोडेर इन्डोस्वेज बैङ्क लिँदै गर्दा यो बैङ्कको बिजनेश हिमालयन बैङ्कको तुलनामा एक तिहाई मात्र थियो । मैले बैङ्कको विस्तार गर्न सुरु गरेँ । किनकी मसँग भिजन थियो । बिजनेशसँग पुँजी वृद्धिमा जोड दियौं । धेरै पटक हकप्रद हालियो । सुरुमा धेरै अभाव खेप्नु पर्याे । जग्गा/मोटर बेचेर सेयर किनियो । त्यतिखेर नगद हुन्थेन । राष्ट्र बैङ्कले ८ अर्बको पुँजीको व्यवस्था गर्दा हामीले करिब ७ अर्ब बनाईसकेका थियौं । कतिपयले मलाई राष्ट्र बैङ्कसँग लबिङ गरेर बैङ्कको पुँजी ८ अर्ब पुर्याउन लगायो भनेर आरोप पनि लगाए । तर, मैले रिजर्भ र पुँजी गरेर १० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था हुनुपर्छ भन्ने कुरा राखेको थिएँ । पछि पुँजी मात्रै ८ अर्ब बनाउनु पर्ने नीति आएको देखेर म समेत सरप्राइज भएको थिएँ । धेरै साथीहरु बैङ्कमा लगानी गर्ने इच्छा देखाउनु हुन्छ । ७/८ प्रतिशत प्रतिफल भए पनि हुन्छ भन्नुहुन्छ । तर, गाह्रो छ । हिमालयन बैङ्कमा हुँदा मेरो श्रीमतीले कहिल्यै लाभांश देखिएन भनेर गुनासो गर्थिन् । स्थापनापछिको ५/६ वर्ष लाभांश दिन सकेको थिएन । बिजनेसमा आजको भोलि पैसा कमाउन सकिन्न । पर्खिनु पर्छ । मैले जलविद्युतमा पनि लगानी गरेको छु । त्यसमा पनि प्रतिफल अहिलेसम्म आएको छैन । म पर्खिरहेको छु । इन्भेष्टमेन्ट बैङ्कहरुले हालसम्म उच्च रुपमा ४० प्रतिशतसम्म लाभांश दिएको छ । एउटा नर्मल बिजनेसम्यानले न्यूनतम २० प्रतिशत प्रतिफल हेर्छ । सुरुमा हाम्रो बैङ्कको औसत २५ प्रतिशत प्रतिफल थियो । अहिले सबै बैङ्कहरुको औसत प्रतिफल ११/१२ प्रतिशत छ । अहिले लगानीकर्ताहरु बोनस सेयरमा खुसी हुन्छन् । बोनस सेयर दिएपछि रिटर्न घट्छ । सेयर मूल्य घट्छ । यस विषयमा हामीले सोच्नुपर्छ । विदेशमा नगद बढी दिने अभ्यास छ । इन्भेष्टमेन्ट बैङ्क सधैं टप थ्रीमै रहिरह्यो । अन्य धेरै बैङ्क मर्ज भए । त्यसकारण पनि हामी अलि तल रह्यौं । कर्मचारीका लागि उत्कृृष्ट बैङ्क नेपाल इन्भेष्टमेन्ट बैङ्क कर्पोरेट बैंकिङमा बढी फोकस छ । मेगा बैङ्कसँग आज (बुधबार) एकीकृत कारोबार हुँदैछ । अब नेपाल इन्भेष्टमेन्ट मेगाच बैंक एक उत्कृष्ट बैङ्कका रुपमा देखिन्छ । हामी कर्पोरेट बिजनेस गर्ने बैङ्क हो । मेगाले एसएमईलाई बढी फोकस गर्छ । यो हाम्रो लागि राम्रो कम्बिनेसन हुन सक्छ । शाखाको हिसाबले पनि हामी राम्रो छौं । सिजर्नी आउँछ भन्नेमा म विश्वस्त छु । कुनैमा नम्बर वान, कुनैमा दोस्रो र कुनैमा तेस्रो नम्बरमा छौं । मर्जरपछि पनि उत्कृष्ट हुने हाम्रो लक्ष्य रहन्छ । इन्भेष्टमेन्ट बैङ्कमा कर्मचारीको तलब तथा अन्य सेवा सुविधा राम्रो छ । हाम्रो बैङ्कको सञ्चालन नाफा कम छ । मर्जरपछि अहिलेको भन्दा राम्रो प्रतिफल हुन्छ । इक्विटीमा १५ प्रतिशतभन्दा बढी रिटर्न हुन्छ । यो बैङ्कले सेयरधनीलाई ठीकै प्रतिफल दिएको छ । अहिले धेरै बैङ्कले यति कमायौं भनेर हल्ला गर्नु हुन्छ । १ अर्ब कमाउने बित्तिकै बैङ्कले यति कमायो भनेर हल्ला हुन्छ । लगानी ३० अर्ब हुन्छ तर त्यसमा १ अर्ब कमायो भने पनि हल्ला फैलिन्छ । बैङ्कहरु पारदर्शी छन् । इक्विटीमा प्रतिफल हेर्नुपर्छ । बिजनेसम्यानले पनि बुझ्नु पर्छ । बैङ्करले पनि बुझाउन सक्नु पर्छ । अझैं बैंकिङमा रहन्छु मेरो करियर नै बैंकिङदेखि सुरु भएको हो । रिटायर्ड पनि यही पेशाबाट हुन्छु । हुन त मैले आजभन्दा १० वर्ष अगाडि नै बैङ्कको सीईओ छोडेको हुँ । तर, म अझै काम गर्न चाहन्छु । मानिसको सबैभन्दा प्रोडक्टिभ उमेर भनेको ६० देखि ७० वर्ष हो । त्यसपछि दोस्रो सबैभन्दा प्रोडक्टिभ उमेर ७० देखि ८० वर्ष हो । यो अध्ययनले पुष्टि गरेको तथ्य हो, मेरो भनाई होइन । अहिले म ६८ वर्षको मात्रै भएँ । अझै १०/१२ वर्ष राम्रोसँग काम गर्न सक्छु । अब पछि के कसरी अगाडि बढ्न सकिन्छ समय र परिस्थितिले निर्धारण गर्दै जानेछ । म बैङ्कको आम्दानीसँग निर्भर छैन । विस्तारै हामीले लगानीमा विविधीकरण गर्दै गयौं । हाइड्रोपावर, होटल, रिर्सोट, रियलस्टेट लगायत क्षेत्रमा लगानी गरिरहेका छौं । मसँग नेटवर्क छ । ज्ञान छ । सबै क्षेत्रमा सम्भावना छ । मिहिनेत गर्नु पर्छ । बिजनेसम्यानले ६/७ वर्षसम्म पर्खिनु पर्छ । बैङ्कमा धेरै मिहिनेत छ तर पनि रिटर्न ११/१२ प्रतिशत मात्रै छ । जुनसुकै बिजनेसमा पनि मिहिनेत चाहिन्छ । मैले पनि कुनै दिन बुबासँग पैसा लिनु पर्थ्यो । १२७५ रुपैयाँमा परिवार पाल्नु पथ्र्यो । एक रातमै धनी बन्छु भन्ने सपना कसैले देख्नु हुँदैन । म मैले गरेको कामप्रति सन्तुष्ट छु । मान्छेले मलाई विश्वास गरेका छन् । धेरैलाई मैले सहयोग गरेको छु । सन्तुष्टि पैसा कमाएर प्राप्त हुँदैन । मैले जग्गा बेचेर काम गर्नु त्यतिबेलाको लागि राम्रो निर्णय थियो । व्यवसायमा जोखिम लिन सक्नु पर्छ । जोखिम नलिएर कमाउन सकिँदैन । नेटवर्क निर्माण गर्नु पर्छ । मान्छेलाई चिन्नु पर्छ । तब मात्रै व्यक्ति सफल बन्न सक्छ । मैले त्यतिखेर जग्गा बेचेर बैङ्क नखोलेको भए बैंकिङमा एक पायोनियर बैङ्कर भनेर नचिनिन पनि सक्थेँ । प्रस्तुती : सन्तोष रोकाया (पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । देशविकास पत्रिकाको  वर्षअङ्कबाट) सम्बन्धित सामग्री :  सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि, कूल सम्पत्ति पौने ५ खर्ब पुग्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । मर्जरपश्चात् शाखा कार्यालय २९६ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।

सेञ्चुरी नाम राखेर १०० वर्ष पुरा गर्ने योजना बनाएको बैंक १२ वर्षमै विलय

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा कान्छो बैंकका रुपमा स्थापित सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग मर्ज भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रभु र सेञ्चुरीबीच एकीकृत कारोबार सुरु भएको हो । बैंकको नाम सेञ्चुरी राखेर एक शताब्दी पुरा गर्ने लक्ष्य लिएको यो बैंक १२ वर्षको यात्रामै प्रभु बैंकमा समाहित हुन पुग्यो । सेञ्चुरी वि.सं. २०६७ माघ ९ गते ३१ औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंक हो । बैंकिङ क्षेत्रमा सबैभन्दा कान्छो बैंक सेञ्चुरी हो । तर, आज प्रभु बैंकसँग गाभिएपछि सेञ्चुरी बैंकको इतिहास मेटिएको हो । सेञ्चुरीले आफ्नो १२ वर्षको इतिहासमा विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेको छ । बैंकले अरनिको डेभलपमेन्ट बैंक र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई वि.सं. २०७४ जेठ २८ गते गाभेको थियो । यस्तै, सगरमाथा फाइनान्सलाई प्राप्ति गरी वि.सं. २०७४ असार ३१ गतेर अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.सं. २०७४ मंसिर २४ गते गाभेको थियो । छोटो समयमा आधा दर्जन संस्थालाई आफूमा गाभेपछि अन्य बैंकलाई चुनौति दिने रणनीतिका साथ बैंकिङ बजारमा होमिएको सेञ्चुरीले एक शताब्दी अर्थात सय वर्ष आफ्नै नाम र आफ्नै ब्राण्डमा स्थापित हुने योजना बनाएको थियो । तर, १२ वर्षमै प्रभुसँग गाभिन बाध्य भयो । सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ सबैभन्दा कान्छो बैंकको हैसियत समाप्त भएपनि मर्जरपछि टप फाइभमा पुग्दा खुसी भएको बताउँछन् । तर, नाम नामेट हुँदा भने दुःख लागेको उनको भनाइ छ ।  बिदाई गर्नु जहिल्यै दुखद क्षण भएपनि त्यो विदाई सही कारणका लागि पनि हुने उनको धारणा छ । सेञ्चुरी बैंक सुरुमा ५६८ जना सेयरधनी मिलेर स्थापना भएको बैंक हो । अध्यक्ष श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले विकास निर्माणमा कोशेढुंगा सावित हुने बताए । ‘यसअघि ठूलो आयोजना निर्माणका लागि धेरै बैंकको सहयोग खाँचो पथ्र्याे, अब मर्जर पश्चात् एउटै बैंकले मेगा प्रोजेक्ट गर्न सक्छ, दीगो अर्थतन्त्र र विकासका लागि कोसेढुंगा सावित हुनेछ,’ उनले भने । २०७० सालमै मर्जरको प्रस्ताव प्रभु बैंक बन्नु अघि फाइनान्स कम्पनीका रुपमा कारोबार गथ्र्याे । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर नीति अघि सार्याे । प्रभु फाइनान्सले २०७० सालमा सेञ्चुरी बैंकलाई मर्जरका लागि प्रस्ताव गर्याे । तर, सेञ्चुरी बैंकले अस्वीकार गर्याे । प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्स मर्ज भएर २०७० असार ३० गते एकीकृत कारोबार गरे । फाइनान्स कम्पनीबाट विकास बैंक बनेपछि वाणिज्य बैंक बन्ने इच्छा जाग्यो । तत्कालीन किस्ट बैंकका सञ्चालकले गैरकानुनी ढंगले बैंकको रकम हिनामिना गरेपछि बैंक डुब्यो । खारेजीको अवस्थामा रहेको किस्ट बैंकलाई प्रभु बैंकले गाभ्यो । प्रभुले किस्टसँगै जेनिथ फाइनान्स र गौरीशंकर डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर २०७१ मंसिर ५ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापित भयो । बैंकले पुनः ग्राण्ड बैंक नेपालसँग मर्ज गरेर २०७३ माघ २ गते एकीकृत कारोबार गर्याे । प्रभु बैंकले मर्जर तथा गाभेका संस्थाहरु वित्तीय सूचकमा खासै बलिया थिएनन् । अन्य बैंक तथा वित्तीय संस्थाले मर्ज गर्न नमानेका संस्थालाई प्रभु बैंकले लिन थाल्यो । हाल सञ्चालमा रहेका बैंकहरुमा सेञ्चुरी बैंक पुच्छारमा रहेको बैंक थियो । कमजोर रहेका संस्थालाई गाभ्दै पाठ सिकेको प्रभुले सेञ्चुरीलाई गाभेपछि आगामी दिनमा थप शसक्त बैंकको रुपमा बजारमा उभिने प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचन बताउँछन् । सबल र सुदृढ बैंकका रुपमा सबै कर्मचारीलाई व्यवस्थापन गरे अघि बढ्नुपर्ने उनले बताए । ‘प्रभु बैंक विभिन्न समयमा फाइनान्स कम्पनीलाई एकीकृत गर्दै अहिले ठूलो बनेको छ, उनले भने, ‘पूर्व गभर्नर चिरञ्जीवि नेपाल छिटो–छिटो लभ गर्नुहोस्, मर्जरमा जानुस् भन्नु हुन्थ्यो, वैवाहिक जीवनमा सम्बन्ध बिग्रँदा फेरी छुट्टिएर बस्न सकिन्छ तर मर्जरमा छुट्टिने छुट कसैलाई हुँदैन, सेयरधनीहरु अब एक भएर काम गर्नुपर्छ ।’ प्रभु बैंक र सेञ्चुरी बैंकबीचस्वाप रेसियो १ः१ अनुपातमा एकीकृत कारोबार भएका हुन् । अर्थात् मर्जर पश्चात्सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १कित्ता नै सेयर पाएका छन् । अध्यक्ष लिला प्रकाश सिटौला बनेका छन् । सञ्चालकहरुमा रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान छन् । मर्जरपश्चात् प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बनेका छन् । सीईओ शेरचनले प्रभु र सेन्चुरी बैंकबीचको मर्जर नेपालको बैंकिङ्ग क्षेत्रमा ऐतिहासिक भएको बताए । उनले आजदेखि ग्राहकलाई नयाँ स्वाद दिने बताए । राष्ट्र बैंकको नीतिलाई जहिले पनि बैंकले पालना गर्ने गरेको र मर्जर पश्चात् ग्राहकलाई फरकपन महशुस हुने गरी सेवा प्रदान गर्ने उनको भनाइ छ । सेयरधनी लगायत ग्राहकले कुनै गुनासो नगर्ने गरी सेवामा सुधार गर्ने उनले बताए । मर्जर पश्चात् बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ रकूल कर्जा २ खर्ब ५३ अर्बरुपैयाँ पुगेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुग्नेछन् । यस्तै, बैंकको ग्राहक संख्या ३० लाख बढी रहेका छन् भने एक्सटेन्सन काउण्टर ७२ वटा पुगेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुगेका छन् । प्रभु बैंकका ३ लाख ४६ हजार ९४० सेयरधनी छन् । बैंकमा ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत कर्मचारी महिला काम गरिरहेका छन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ ।